गठबन्धनलाई शिवजीले त्रिशुल हान्छन् - ओली - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

गठबन्धनलाई शिवजीले त्रिशुल हान्छन् – ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् ।

खोटाङको दिक्तेलमा शनिवार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आएका अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशूल जोडिएपछि मजाक उडाउने नेताको हालत पल्टिने बताएका हुन् ।

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभई उनीहरूलाई शिवजीले त्रिशूल हान्ने बताए ।

‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशूल हुन्छ । अब सूर्यसँग त्रिशूल पनि जोडिने भो,’ अध्यक्ष ओलीले भने, ‘शिवजीको त्रिशूलको फेला परेपछि यिनीहरूको हालत के होला ? ओलीले अब त्रिशूल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशूल त शिवजीले हान्छन् । शिवजीको त्रिशूल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’

पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टीकाटिप्पणी नगर्ने बताए ।

अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गरेका छन् । ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गरे । उनले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए ।

हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुगेका छन् । जनसभाका लागि हजारौँ कार्यकर्ता उतारेको एमालेले दाबी गरेको छ ।