थेग्नै नसकिने गरी केन्द्रीय कमिटीमा प्रश्न उठ्ने भएपछि अत्तालिए प्रचण्ड
संसदबाट व्याख्यात्मक घोषणा गरी अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्षमाथि पार्टीकै नेताहरूले सवाल खडा गरेका छन् ।
आफूमाथि थेग्नै नसकिने गरी प्रश्नहरूको वर्षा हुने भएपछि उनी यतिबेला तनावमा देखिन्छन् । आज ११ बजे बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकसमेत प्रचण्डले २ बजेलाई सारेर प्रश्नहरूको जवाफ दिने तयारी प्रचण्डको रहेको छ ।
प्रचण्डले एमसीसी पारित भएपछि आफ्नै निवासमा पत्रकारलाई बोलाएर आफूले राष्ट्रघाती काम नगरेको स्पष्टिकरण दिएका थिए ।
पार्टीभित्रैबाट एमसीसीको विरोध गरिएको सन्दर्भमा पत्रकारले प्रश्न गरेपछि नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई पार्टी छोडेर गए हुन्छ भन्ने भावार्थ सहितको अभिव्यक्ति उनले दिएका थिए ।
प्रचण्डको यस्तो अभिव्यक्ती आएपछि श्रेष्ठले पूर्व एकता केन्द्रनिकट नेताहरूसँग लगातार छलफल गरे । उनले प्रचण्डको आलोचना गर्दै आएका छन् ।
आज बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीसम्बन्धी प्रचण्डलाई प्रश्नहरू गर्ने सदस्यहरूको तयारी छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार ११ बजेका लागि तय गरिएको बैठक २ बजे बस्ने भएको हो । माओवादीको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट सुरु भएको हो । आजको बैठक बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिएपछि बैठकका नियमित कार्यसूचीमा छलफल हुनेछ । माओवादी केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने बताइएको छ ।