आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी गर्दै नेपाल राष्ट्र बैंक - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी गर्दै नेपाल राष्ट्र बैंक



काठमाडौं। नेपालमा गैरकानूनी मानिएको क्रिप्टोकरेन्सी कारोबारको विषयमा पछिल्लो समय विभिन्न बहस र टिकाटिप्पणी भइरहेको बेला नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने लक्ष्य लिएको थियो।

जसअनुसार राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइ केही समयदेखि सेन्ट्रल बैंक डिजिटल करेन्सीको नेपालमा सम्भावनाबारे अध्ययन गरिरहेको थियो। उक्त अध्ययन अन्तिम चरणमा पुगेको बताइएको छ। विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले फागुन मसान्तसम्म अध्ययनको प्रतिवेदन तयार हुने जानकारी दिए।

उनकाअनुसार उक्त प्रतिवेदनमा डिजिटल करेन्सीको सम्भावना, निष्कासनको पद्धति आदि विषयमा स्पष्ट खाका हुनेछ।

कुनै पनि देशमा मुद्रा निष्कासनको सर्वाधिकार केन्द्रीय बैंकलाई हुने भएकाले राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याएमा उक्त करेन्सीले कानूनी मान्यता पाउनेछ। राष्ट्र बैंकले डिजिटल करेन्सी सार्वजनिक गरेपश्चात् कुनै व्यक्तिले अर्को व्यक्तिलाई डिजिटल भुक्तानी गर्न चाहेमा त्यसलाई अस्वीकार गर्न पाउँदैन।

पछिल्लो समय विश्वका धेरै देशमा डिजिटल करेन्सीको कारोबार र निष्कासनबारे बहस भइरहेको छ। हालसम्म हाइब्रिड, रिटेल र होलसेल गरेर तीन प्रकारका डिजिटल करेन्सीको निष्कासन भएको छ। रिटेल र होलसेल मोडलमा निष्कासन हुने डिजिटल करेन्सी सोझै पब्लिक खातासँग जोडिने गरेकोमा हाइब्रिडमा दुवै करेन्सीको विशेषतासहित पब्लिकको खाता बैंकको सिस्टम हुँदै केन्द्रीय बैंकको प्रणालीमा जोडिएको हुन्छ। नेपालमा पनि राष्ट्र बैंकले छुट्टै मोबाइल र वेबसाइट बनाएर एपमा आवद्ध भएर कारोबार गर्न सकिने गरी करेन्सी निकाल्ने तयारी गरेको छ।

कागजी नोटमा अंक हुने गरेकोमा डिजिटल मुद्रामा भने निश्चित रकम हुँदैन।