जेठ १५को बजेटअघि स्थानीय निर्वाचन हुनै नसक्ने ! - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

जेठ १५को बजेटअघि स्थानीय निर्वाचन हुनै नसक्ने !



प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला निर्वाचनलाई लिएर छलफल तीव्र पारेका छन् । निर्वाचनसम्बन्धी कानून संशोधन गर्नै नपर्ने गरेर जेठ ४ मै स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी रहेपनि अन्तिम अवस्थामा त्यो रोकिएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री देउवा आगामी जेठ १५ मा आउने बजेटअघि चुनाव गर्न तयार नदेखिएका हुन् । सत्तारूढ गठबन्धनका नेताहरू र कांग्रेसकै देउवानिकट कतिपय नेताहरूले देउवालाई बजेटअघि चुनाव नगर्न सल्लाह दिएका छन् ।

बुधवार देउवासँग बालुवाटारमा छलफल गरेका एक कांग्रेस नेताले भने, ‘बजेटअघि निर्वाचन हुन नसक्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको मैले पाएँ ।’

बजेटअघि नै निर्वाचन घोषणा हुँदा पपुलर कार्यक्रमका आधारमा भोट माग्न नपाइने चिन्ता देउवालाई छ । एमालेको प्रभुत्त्व रहेको स्थानीय निकायको मतलाई प्रभावित पार्न पनि बजेटमा केही पपुलर विषयहरू राख्नुपर्ने भन्दै आफ्नै नेताहरूले दिएको सुझावपछि देउवा थप तनावमा पुगेका छन् ।

एमालेले भने जेठ ४ मै चुनाव हुनुपर्ने माग राखेको छ । चुनाव सार्न खोजे देशभर आन्दोलन गर्ने चेतावनी एमालेले दिएको छ भने त्यसका लागि तयारीसमेत गरिरहेको छ ।

बजेटपछि मनसुन शुरू हुने भएकाले असारमा चुनाव हुने सम्भावना हुँदैन । त्यसपछि असोज पुग्नेछ । असोजमा तीनै तहको निर्वाचन एकैपटक हुने सम्भावना देखिन्छ । जसका लागि गठबन्धनका अन्य दलहरू पनि सकारात्मक छन् ।