शेखर र गगनलाई देउवाको चेतावनी : प्रचण्डले गठबन्धन छोड्न सक्छन्, जथाभावी नबोलौं
आगामी निर्वाचन एक्लाएक्लै लड्नुपर्छ भन्दै अभियान नै चलाइरहेको नेपाली कांग्रेसको शेखर-गगन समूहको गतिविधिप्रति प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले चिन्ता प्रकट गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा गठबन्धन गर्नुपर्ने दबाब देउवालाई दिएका छन् । देउवा गठबन्धनमा प्रचण्ड-नेपालको दबाब झेलिरहेका छन् भने आफ्नो पार्टीमा शेखर-गगनको दबाब झेलिरहेका छन् ।
देउवानिकट एक नेताले भने, ‘गठबन्धनलाई लिएर आफ्नै साथीहरूले आफूलाई अप्ठेरोमा पारेको भन्दै सभापति तनावमा हुनुहुन्छ । तत्काल गठबन्धनको विकल्प छैन । गठबन्धन भत्किने हो भने निर्वाचन पनि अन्योलमा पर्छ ।’
देउवाले शेखर समूहका अर्का एक प्रभावशाली नेतालाई बालुवाटार बोलाएर आफूलाई अप्ठेरो पर्ने गरी गतिविधि नगर्न आग्रहसमेत गरेको ती नेताले खुलाए ।
‘यतिबेला मुलुक नै संगीन मोडमा छ, गठबन्धन टुटेमा त्यसको जिम्मेवारी कसले लिन्छ ? प्रचण्डले गठबन्धन छोडे भने के हुन्छ ? देशलाई फेरि ओलीकै हातमा सुम्पिने ?’ भन्दै देउवाले शेखर समूहका ती नेतालाई कन्भिन्स गर्न खोजेका थिए ।
एमसीसीकै कारण गठबन्धन भत्किने कुनै आधार नरहेकोसमेत देउवाले बताएका थिए । पहिला निर्वाचनतिर फोकस गर्ने र प्रचण्ड-माधवका माग सम्बोधन गर्न एमसीसीका केही बुँदा संशोधन गर्नका लागि अमेरिकालाई अनुरोध गर्ने निष्कर्षमा देउवा पुगेका छन् ।
फेब्रुअरीभित्र एमसीसीबारे निर्णय लिन देउवालाई अमेरिकाले डेडलाइन तोकेको छ । स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने र त्यसमा गठबन्धन कायमै राखेर अघि बढ्दा प्रचण्ड-नेपाल पनि सहमतिमा आउन सक्ने बुझाइ देउवाको छ ।