एमसीसी पारित भए एमाले र माओवादी दुवै विभाजन हुने
सत्तारूढ गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर तीव्र मतभेद उब्जिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदको यही अधिवेशनमा एमसीसी पारित गराउनुपर्ने पक्षमा उभिएका छन् भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका सत्ता गठबन्धनका अन्य नेताहरू संशोधन नगरिए एमसीसी पास नगर्ने अडानमा छन् ।
माओवादीमा संशोधन नै गरिएपनि एमसीसी कुनै पनि हालतमा पास हुनु हुँदैन भन्नेको बहुमत रहेको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्न सत्तारूढ गठबन्धनका दलहरू ‘पोजिटिभ’ रहेको बताएका छन् ।
आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने प्रचण्ड र माधव नेपालको शर्तमाथि देउवाले एमसीसी पास गर्नुपर्ने काउन्टर शर्त राखेका छन् । एक्लाएक्लै निर्वाचनमा जाँदा हार बेहोरिने डर प्रचण्ड नेपालमा छ । त्यसैले उनीहरू संसदबाट संकल्प प्रस्तावसहित एमसीसी पास गर्नुपर्नेमा लचक हुने सम्भावना देखिएको हो ।
एमसीसी पारित हुनुहुँदैन भन्ने मत माओवादी केन्द्रमा बलियो रहेकाले प्रचण्डलाई असहज भएको छ । नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरूले सार्वजनिक रूपमै कुनै पनि हालतमा एमसीसी पारित गर्न नहुने बताइरहेका छन् ।
सत्ता गठबन्धनबाट पार नलागे देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई साथ लिएरै भएपनि एमसीसी पास गर्ने तयारीमा रहेको बुझिएको छ ।
यदि गठबन्धनभन्दा बाहिरबाट देउवाले एमसीसी पारित गर्न खोजे भने अहिलेको गठबन्धन भत्किने खतरा उत्तिकै छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी निशर्त पास हुनुपर्ने बताइरहेका छन् भने एमालेकै भीम रावललगायत अन्य नेताहरू कुनै हालतमा एमसीसी पास हुनु हुँदैन भन्ने अडानमा छन् ।
गठबन्धनबाट सहमति गरेर एमसीसी पास गरिएमा माओवादी केन्द्र विभाजित हुन सक्ने खतरा छ भने एमालेको साथ लिएर देउवाले संसदबाट एमसीसी पास गराएमा एमालेको एउटा हिस्साले पार्टी छोड्न सक्ने सम्भावना रहेको छ ।
एमसीसीबारे नेकपा एकीकृत समाजवादी भने एकढिक्का रहेको छ । देउवाले जबर्जस्ती पास गर्न खोजे गठबन्धनबाट बाहिरिने झलनाथ खनालले बताएका छन् ।
‘एमसीसी पास भएपनि, नभएपनि पार्टी एकढिक्का हुन्छ,’ नेकपा एसका एक सांसदले भने ।