प्रचण्डको एक टिप्पणीले शेयर बजारमा भुइँचालो - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्डको एक टिप्पणीले शेयर बजारमा भुइँचालो



काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेपछि शेयर बजारमा भुइँचालो नै जाने भएको छ । निकै फस्टाएको शेयर बजारमा उनको अभिव्यक्तिले तरङ्ग सृजना गरेको छ ।

ठुलो लगानी भएको यो ब्यापार र यससँग सम्बन्धित व्यापारीहरू प्रभावित हुने भएका छन् । सरकारमा अर्थमन्त्री पनि उनकै पार्टीका भएकाले उनको उक्त टिप्पणीलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डले धितोपत्र बजारबारे गरेको टिप्पणीकै कारण यसबारे छुट्टै बहस सुरू भएको छ । ब्यापारीहरू त्रसित हुन थालेका छन् ।

के भनेका थिए प्रचण्डले ?

उनले नाफा सोहरेर सीमित समूहलाई धनी बनाउने यस्तो वित्तीय एकाधिकार सिर्जना गर्ने प्रणालीसँग लड्ने तरिका खोज्नुपर्ने वेला आएको पनि बताए। माओवादीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै दाहालले शेयर बजारसहित सम्पूर्ण धितोपत्र बजारको विषयमा गम्भीर टिप्पणी गरेका हुन्। शेयर बजारमा चरम निराशा आएर लगानीकर्ताको सम्पत्ति साढे ११ खर्ब घटिसकेको वेला माओवादी अध्यक्ष दाहालले यस्तो विचार व्यक्त गरेका हुन्।

दाहालले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पुँजी धितोपत्र बजार, घरजग्गा कारोबार आदिमा जानु अर्थतन्त्रका लागि राम्रो नभएको बताए। उनले पछिल्लो समयमा पुँजीको लगानी उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादकै विकसित रुप भएको टिप्पणी गरे। दाहालले भूमण्डलीकृत पुँजीवादलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पनि पार्टीको आधिकारिक दस्तावेजमा नै समावेश गराउने बताए।

“पहिला पहिला पूँजीको लगानी उद्योगमा हुन्थ्यो। उत्पादनमा लगानी हुन्थ्यो। त्यहाँबाट आउने नाफा पूँजीपतिहरूले लिन्थे। आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन। पूँजीको लगानी पूँजीमै हुन्छ। पूँजीको लगानी पूँजीमै हुने वित्तीय पूँजीवाद देखा पर्‍यो,” दाहालले भने।

उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्यांक र एशियाली विकास ब्यांकहरू सबै साम्राज्यवादका विकसित रुप भएको र यिनले ८० प्रतिशत नागरिकलाई भोको नांगो राखेर २० प्रतिशतलाई थप धनी बनाउँदै लगेको जिकिर गरे।

“अहिले तपाईले हेर्नु भयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्ड ब्यांक, एशियाली ब्यांक पैसा यताउता गर्छन भन्ने होला, तर त्यस्तो होइन,” दाहालले थपे, “यो साम्राज्यवादका विकसित रुपहरू हुन्। यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहरेर संसारका केही सीमित पूँजीपतिहरूको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोकोनाङ्गो राख्ने प्रणाली हो, यो।

माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले शिथिल अर्थतन्त्रलाई उकास्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग रु. ४८ अर्ब विस्तारित कर्जा लिने तयारी गरिरहँदा अध्यक्ष दाहालले कोषलाई पनि साम्राज्यवादको विकसित रुप भएको बताएका हुन्। दाहालले ब्यांकहरूमा रहेको रकम पनि सिधै घरजग्गा किनबेचमा भइरहेको र त्यसले छिटो नाफा कमाएकाले सबै रकम त्यही क्षेत्रमा खनिएको बताए।

पुँजीबजारका विषयमा लामो समयदेखि वामपन्थी पृष्ठभूमिका नेताहरूले आलोचनात्मक कुरा बोल्दै आएका छन्। अर्थमन्त्री हुँदा बाबुराम भट्टराईले शेयर बजारलाई जुवाघरजस्तै रहेको बताएपछि लगानीकर्ताहरुले उनलाई आलोचना गरेका थिए । त्यसैगरी, २०७५ सालमा अर्थमन्त्री युवराज खतिवडाले पनि शेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै लगानीकर्तालाई निरुत्साहित गर्न खोजेका थिए।

अहिले सबैले माओवादीलाई हेपिरहेको उनको भनाइ थियो। माओवादी आफै अलमलमा भएकाले अरूले हेप्न सकेको उनले बताए।

सहि कदम चालेर हिड्ने हो भने माओवादीलाई कसैले हराउन नसक्ने उनको भनाइ थियो। “माओवादीलाई हराउन सक्ने ताकत नेपालमा छैन,” दाहालले भने। अब माओवादीलाई नयाँ पार्टीका रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।