मतगणनाकै विषयमा विवाद - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मतगणनाकै विषयमा विवाद



धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणनामा विवाद भएको छ । दुईपक्षबीच विवाद हुँदा मतगणना अझै सुरु हुन सकेको छैन।

मतदान सकिएपछि राति ९ बजेबाट मतगणना सुरु हुने भनिएको थियो। त्यसपछि मतपेटिकाको मुचुल्का उठाएर ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको थियो।

फेरि उम्मेदवारहरूले मतगणना गर्दा एजेन्ट राख्ने विषयमा सहमति नहुँदा मतगणना प्रभावित बनेको र सुरु हुन नसकेको कैलाली कांग्रेसका एक नेताले बताए। अधिवेशनमा कुल १ हजार २६ मतमध्ये १ हजार ३ मत खसेको छ। यस्तै २३ जना भने अनुपस्थित रहेका थिए।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष चुनावी मैदानमा छन्। संस्थापन पक्षबाट सभापतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

दुईजना उपसभापति पदका लागि संस्थापन पक्षबाट कैलालीका जनकराज चौधरी र बैतडीका लोकराज अवस्थीको उम्मेदवारी परेको छ।

त्यसैगरी महामन्त्रीमा संस्थापन समूहबाट कांग्रेस कैलालीका सभापति नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा अम्बिका चलाउने, गोपालदत्त भट्ट र चिन्तामणि भट्टको उम्मेदवारी रहेको छ।

त्यसैगरी उपसभापतिमा इतर पक्षबाट गोपाल गुरुङ र मानबहादुर रावलले उम्मेदवारी दिएका छन्।

महामन्त्रीमा प्रताप गुर्धामी, रामबहादुर शाही र सहमहामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट र खीमा भण्डारीले उम्मेदवारी दिएका छन्।
यसअघि पुष्पा भट्ट, तिलकराज जोशी र निर्मला बोगटी (विष्ट) भने निर्विरोध निर्वाचित भइरहेका छन्। मनोनयन दर्तामा भूगोल सदस्यमा अन्य उम्मेदवारी नपरेकाले उनीहरू निर्विरोध भएका हुन्।