नेपालको सपना चकनाचुर, अञ्जन विष्टको अभाव खड्कियो - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

नेपालको सपना चकनाचुर, अञ्जन विष्टको अभाव खड्कियो



काठमाडौं- साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ। फाइनलमा प्रतिद्वन्द्वी भारतसँग ३-० ले पराजित भएपछि नेपालको सपना चकनाचुर बनेको हो।

यससँगै भारतले आठौँ पटक उपाधि जित्न सफल भएको छ ।माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको हो।

पहिलो हाफमा उत्कृष्ट खेल्दै भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफ सुरु हुनासाथ दुई गोल खाएको थियो। नेपालले केही राम्रा अवसरहरु सिर्जना गरे पनि गोल फर्काउन नसक्दा भारतलाई उपाधि सुम्पिएको हो।

४८औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै भारतले अर्को गोल गर्दै २-० को अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए।

साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनल पुगेको थियो। उपाधि जित्दै इतिहास रच्ने नेपालको लक्ष्यमा भारत बाधक बन्यो। फाइनल खेलमा अञ्जन विष्टको अभावसमेत खड्किएको देखिन्थ्यो। उनी अघिल्ला दुई खेलमा पहेँलो कार्ड खाएका कारण आज प्रतिबन्धमा परेका थिए।

यस्तै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि आजको खेलमा प्रतिबन्धमा परेका थिए। जसकारण उनी ‘टेक्निकल एरिया’ मा उपस्थित हुन पाएनन् र नेपाललाई साफ च्याम्पियन बनाउने वाचा पूरा गर्नबाट चुकेका छन्। दुई पहेँलो कार्डका कारण प्रतिबन्ध गरिएकोप्रति उनले असन्तुष्टि जनाएका थिए। आफूलाई प्रतिबन्धित गर्न साफले नियम परिवर्तन गरेको भन्दै उनले साफको आलोचना गरेका थिए।

अल्मुताइरीसँगै भारतका प्रशिक्षकमाथि समेत फाइनल खेलमा प्रतिबन्ध लागेको थिए। त्यसका बाबजुद् भारत आठौं पटक साफ च्याम्पियन बनेको छ। पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो। नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो। यसअघि भएको खेलमा भारतसँग नेपाल १-० गोल अन्तरले पराजित भएको थियो।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो। उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो।