कांग्रेस महाधिवेशन: सुरुवाती नतिजामै देउवा 'आउट' - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

कांग्रेस महाधिवेशन: सुरुवाती नतिजामै देउवा ‘आउट’



काठमाडौं- नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनमा ब्यस्त छ । अहिले कांग्रेसका जिल्ला सभापति चयन भैरहेका छन् । पहिलो चरणमा सबै हिमाली जिल्लामा अधिवेशन गरेर सभापति चयन गर्ने भनिए पनि १० बाहेक अरू जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन ।

अन्य ३ वटा जिल्लामा अधिवेशन प्रक्रियामै छ । तर प्रारम्भिक नतिजाले भने पार्टी सभापति शेरबहादुर देउवाको अवस्था पार्टीभित्र निकै कमजोर भएको देखिन्छ । अधिवेशन भएका नौ जिल्लाको नतिजा हेर्दा कांग्रेसमा संस्थापनइतर समूहले बाजी मारेको छ ।

संस्थापन इतरमा समूहबाट संखुवासभामा दीपक खड्का, रूकुम पूर्वमा केशरमान रोक्का, कालिकोटमा अम्मबहादुर शाही र मुस्ताङमा रोमी गौचन थकाली कांग्रेसको जिल्ला सभापति चयन भएका छन् ।

पछिल्लोपटक गोरखामा नन्दप्रसाद न्यौपाने सभापति चुनिएका छन् । उनी पनि संस्थापनइतर समूहबाट छन् । न्यौपाने विशेष गरी नेता गगन थापा निकट रहेको कांग्रेस स्रोतले बतायो । त्यसैगरी, देउवा पक्षबाट ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, मनाङमा शंकर गुरूङ र हुम्लामा मोहनविक्रम सिंह सभापति निर्वाचित भएका छन् ।

रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) सभापति चयन भएका छन् । कान्छाराम सभापतिको उम्मेदवारीमा दाबी गरेका विमलेन्द्र निधि निकट मानिन्छन् । यी ९ जिल्लामा सभापति निर्वाचन हुनेबाहेक कांग्रेसले ६४ जिल्लामा नगर र पालिका तहको अधिवेशन सम्पन्न गरेको छ ।

१३ जिल्लामा अझै क्रियाशील सदस्यता विवादको विषय समाधान हुन नसक्दा स्थानीय तहको अधिवेशनको मिति टुंगो लागेको छैन । स्थानीय तहमा वडा, पालिका र नगर कमिटीमा भएको अधिवेशनले कांग्रेसको क्षेत्रीय र जिल्ला प्रतिनिधिको हिसाबकिताब आंकलन गर्न सकिन्छ । कांग्रेसको विधानमा वडा अधिवेशनबाट क्रियाशील सदस्यले मतदान गरी प्रदेशसभा क्षेत्रको अधिवेशनका लागि प्रतिनिधि छान्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्रबाट छानिएका प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भाग लिनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले नै केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छान्ने छ, र तिनै प्रतिनिधिले सभापति लगायत केन्द्रीय कार्यसमितिका उम्मेदवारलाई मतदान गरी नेतृत्व चयन गर्ने विधि कांग्रेसको विधानले अवलम्बन गरेको छ ।

कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएर महाधिवेशन प्रतिनिधि छनौट हुँदा कांग्रेसमा कसको पक्षमा कति प्रतिनिधि आए भन्ने नजिकको आंकलन गर्न सकिने कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसमा अहिले मुख्य गरी दुई समूह देखिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र अर्को देउवालाई जसरी पनि सभापतिबाट बिदा गर्ने योजनामा रहेको संस्थापनइतर पक्ष । यो समूहमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेका छन् । तर संस्थापन इतर समूहमा पनि सभापतिका आकांक्षी धेरै भएकाले आगामी महाधिवेशनमा को उम्मेदवार बन्ने भन्ने अझै टुंगो लागेको छैन ।

संस्थापन समूहमा सभापति देउवाकै पक्षमा रहेका नेताहरू विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । निधिले त औपचारिक रूपमा कार्यालय नै स्थापना गरेर प्रचार अभियान थालेका छन् ।

स्थानीय तहको नतिजाले पनि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि कुन पक्षमा बढी आउलान् भन्ने प्रारम्भिक आंकलन गर्न सकिन्छ । स्थानीय तहको अधिवेशनले महाधिवेशन प्रतिनिधिको नतिजा देउवा इतर समूहका लागी प्रारम्भिक संकेत सकरात्मक देखिएको छ ।

स्थानीय तहको अधिवेशनको नतिजा हेर्दा संस्थापन इतर समूहको करिव ६० प्रतिशत नतिजा देखिएको कांग्रेसभित्रै चर्चा भएको छ । कतिपय जिल्लामा सर्वसम्मत भएको छ । सर्वसम्मत भएको ठाउँको मत कता जान्छ भन्न सकिने अवस्था छैन । तर जहाँ निर्वाचन भएको छ, त्यहाँको नतिजा देउवा इतर समूहको लागि उत्साहमाया बनेको भने छ ।

काठमाडौं महानगरपालिकामा पनि संस्थापन इतर पक्षले जीत हात पारेको छ । प्रकाशमान सिंह र गगन थापाले रुचाएका नीलकाजी शाक्य निर्वाचित भएका छन् ।