तनावमा छन् प्रचण्ड - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

तनावमा छन् प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड आजकल अलिकति तनाव अवस्थामा रहेका छन् । उनी सहभागी भएका पछिल्ला कार्यक्रमहरुलाई हेर्ने हो भने उनी अलिकति पनि खुशी छैनन् ।

उनी आफू तनावमा रहेको कुरा आजकल सार्वजनिक रुपमा नै प्रस्तुत गर्न लागेका छन् । यसको उदाहरण उनी सहभागी भएको पार्टी तथा अन्य कार्यक्रमहरुलाई हेरे पुग्छ ।
एमालेसँग पार्टी एकता गरेर बनेको (नेपाल कम्युनिष्ट पार्टी) नेकपा फुटेपछि प्रचण्डले तनाव लिन सुरु गरेको प्रष्ट देख्न सकिन्छ ।

अध्यक्ष प्रचण्ड पछिल्लो समय पार्टीका नेताहरुले नेतृत्व गर्नभन्दा पनि पदको पछि हिंडेका कारण असन्तुष्ट रहेका छन् । प्रचण्ड आफ्नै नेताकार्यकर्ताहरुसँग असन्तुष्ट रहन थालेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारमा सहभागी हुनका लागि उनले मन्त्री छान्ने क्रममा पार्टीका धेरै नेताहरुले मन्त्री बन्न चाहेको हुँदा उनी तनावमा रहेका थिए । पार्टीका नेताहरुले मन्त्री बन्न होडबाजी गरेका कारण आफू तनावमा रहेको कुरा उनले सार्वजनिक रुपमा नै खुलाएका थिए । पार्टीका नेताहरुलाई चित्त बुझाउन नसके उनलाई घाटा रहने हुँदा उनी त्यसमा अलर्ट छन् ।

तर मन्त्रीकै विषयलाई इस्यु बनाएर पार्टीमा द्वन्द्व सिर्जना गर्न खोज्ने नेताहरु पनि माओवादीमा देखिन थालेका छन् । यो प्रचण्डको लागि दुर्भाग्यपूर्ण कुरा हो । केही दिनअगाडी सुरेश वाग्ले र भिमसेन पोखरेलको २३ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा पनि प्रचण्डले पार्टी विघटनको प्रसंग निकालेका थिए ।

‘क्रान्तिका कुरा गर्दै हिंड्ने, तर व्यवहारमा प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिने खालको पार्टी बनाउनु भन्दा त विघटन नै गरे ठीक हुन्छ,’ प्रचण्डले भने, ‘एमाले जस्तै हुने हो भने यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ?’

त्यस्तै त्योभन्दा अगाडी वागमती प्रदेश समितिको प्रशिक्षणमा बोल्दै पार्टी विघटनकै कुरा ल्याएका थिए । ‘जनताका लागि काम नगर्ने हो भने पार्टी विघटन गरिदिए हुन्छ,’ उनले भनेका थिए ।

प्रचण्डले २०७४ सालको स्थानीय निकायको निर्वाचन चलिरहँदा पनि पार्टी विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा पनि प्रचण्ड सामान्य अवस्थाभन्दा अलिक फरक तरिकाले प्रस्तुत भएका थिए । उनले भने, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’ उनको यस अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ कि उनी माओवादीबाट आफैं विचलित रहेका छन् ।

पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा देउवा सकारात्मक देखिएका छन् । तर प्रचण्ड भने एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् । एमसीसी पारित गर्न सहमतिका लागि देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुन् खोजेपछि प्रचण्ड र देउवाबीचको सम्बन्धमा खटपट सुरु हुन थालेको स्रोतले बतायो ।

प्रचण्ड र देउवाबीचको भेटवार्ता आजकल खासै भएको छैन । तर योभन्दा पहिला प्रचण्ड दैनिक रुपमा नै बालुवाटार जाने गर्थे । एमसीसीमा पास गर्नुपर्ने देउवाको एकल अडानका कारण नै प्रचण्ड र देउवाबीचको सम्बन्ध बिग्रने अवस्थामा रहेको हो ।

यसरी आफू नै अध्यक्ष रहेको पार्टीका नेताहरुले टेर्न छाडेपछि र गठबन्धनका नेताहरुले समेत भाउ दिन छाडेपछि प्रचण्ड आजकल अलि बढे नै तनावमा रहेका छन् ।