फेरिए प्रचण्ड : आक्रामक शैली, नयाँ रणनीति - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

फेरिए प्रचण्ड : आक्रामक शैली, नयाँ रणनीति



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र आक्रामक बन्न थालेका छन् । पार्टीका पछिल्ला बैठकदेखि भातृसंगठनको कार्यक्रममा प्रचण्डले आक्रामक शैली अपनाउन थालेका छन् । पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेरदेखि संगठन निर्माणसम्म प्रचण्डले फरक रणनीति अपनाउन थालेपछि प्रचण्ड फेरिएको चर्चा माओवादी वृतमा चल्न थालेको छ ।

प्रचण्डले नेता कार्यकर्तालाई पार्टी निर्माणमा जुट्न नसके पद छाड्न समेत चेतावनी दिन थालेका छन् । राजनीतिक रूपमा माओवादी कमजोर भैरहेको चर्चा र बहस भैरहेका बेला प्रचण्डको यो शैलीलाई अर्थपूर्ण मानिएको छ । खासगरी विलाशी जीवन जिउन थालेको र पार्टीको भन्दा सत्ताको बढ़ी चिन्ता गर्न थालेको भन्दै पार्टीभित्रै आलोचित बनेका प्रचण्डले हालै भएका कतिपय कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन थालेपछि कार्यकर्ताले पार्टी फेरि बन्ने आशा बोक्न थालेका छन्।

हालै प्रचण्डले अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र वर्षमान पुनलाई पार्टीको मुख्य जिम्मेवारी दिएर अन्यको पनि जिम्मेवारी हेरफेर गरेको विषयले पनि पार्टीमा नयाँ तरङ्ग ल्याएको छ । शर्मा र पुनबीच पहिलो बन्ने होडबाजी चलिरहेको बहस पार्टीमा चलिरहेका बेला प्रचण्डले देखाएको यो चातुर्यताले पार्टी फरक लयमा जाने आंकलन गरिएको छ ।

हालै भएका धेरैजसो कार्यक्रममा प्रचण्डले पार्टीका सय बढी नेताहरुलाई मन्त्री बनाए पनि सबैले अवसरवादी चरित्र देखाएको भन्दै आक्रोश पोखेका थिए । उनले नेताहरूसंग गुनासो गर्दै आफूले विभिन्न सम्झौता गरेर उनीहरूलाई अवसर दिएको तर आफूले सोचेजस्तो साथ कसैबाट पनि नपाएको बताएका थिए। प्रचण्डले विभिन्न नेताहरूले आफूसँग बार्गेनिङ मात्रै गर्ने गरेको भन्दै यस्तो पाराले नसकिने बताएका थिए ।

भर्चुअल माध्यमबाट प्रचण्डले भदौ १७ मा लुम्बिनी, १८ मा बागमती र १९ गते प्रदेशका नेताहरुलाई प्रशिक्षण दिँदै यस्तो गुनासो र आक्रोश ब्यक्त गरेका थिए । कतिपय प्रसंगमा प्रचण्ड उत्तेजित समेत बनेको नेताहरूले बताउने गरेका छन् । उक्त प्रशिक्षण कार्यक्रममा पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुको विकल्प नभएको समेत प्रचण्डले बताएका थिए ।

प्रदेश १ का केन्द्रीय सदस्य, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरुलाई गरेको भर्चुअल सम्बोधनमा प्रचण्डले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरुले धोका दिएको भन्दै चित्त दुखाएका थिए । उनले आफूले जसलाई अवसर दियो, उसैले धोका दिएको भन्दै उनीहरूको कारणले पार्टीमा अवसरवादको जन्म भएको समेत बताए।

पार्टीमा आफूले दिएको विभिन्न जिम्मेवारीमा रहेर पनि नेताहरूले जनताको काम गर्नमा भन्दा अर्कै चिजमा ध्यान दिन थालेको उनले बताएका थिए। उनले अहिलेसम्म पार्टीमा सय बढी नेताहरूलाई मन्त्रीमा अवसर दिएको भन्दै उनीहरूले पनि पार्टी र जनता ढाट्ने काम गरेको उनले आरोप लगाएका थिए । प्रचण्डले हालैका कतिपय कार्यक्रममा प्रचण्डले पार्टीका धेरैजसो नेताहरुले मन्त्री बनाउन दबाब दिइरहेको र बार्गेनिङ गरिरहेको समेत बताउने गरेका छन्।

प्रचण्डले नेताहरूलाई अब पार्टी निर्माणको दिशामा नलागे राजनीति छाड्न समेत चुनौती दिएका छन्। उनले पार्टी बनाए मात्रै अवसर पाइने बताउँदै पार्टी बनाउन कसैले चासो नदेखाउने तर, नेतृत्वलाई घुर्क्याउने, बार्गेनिङ माग मात्र गर्ने परिपाटीले अब नचल्ने बताए । प्रचण्डको भनाई उद्घृत गर्दै एक नेताले भने, अब पार्टी कसरी पार्टी बन्छ भन्ने कसैलाई चासो छैन, खाली नेतृत्वलाई धम्क्याएको छ, बार्गेनिङ गरेको छ, यो तरिकाले कसरी चल्छ पार्टी ? विघटन गरे भैहाल्यो त अब ।’

नेताहरूसंग प्रचण्डले त्यतिमात्रै भनेनन्, अब यो तरिकाले पार्टी चलाउन नसकिने समेत चेतावनी दिए । उनले भने, ‘जिम्मेवारी र अवसर हुँदा पार्टी बन्छ भनेर जिम्मेवारी दियो तर, जिम्मेवारी पुरा नगरी अन्त हिँडिदिने? यो कस्तो कार्यशैली हो? यो तरिकाले त अब सकिंदैन, सबैले आफ्नो जिम्मेवारी बहन नगर्ने हो भने मैले चाहिँ सक्दिन।’

त्यतिमात्र होइन प्रचण्डले पुरानै शैलीले पार्टी चलाएर पनि अब केहि उपलब्धि हुन नसक्ने भन्दै सृजनात्मक तरिकाले लाग्नुपर्ने बताए । पार्टी चुस्त नबनाउने हो भने विघटन गरिदिए पनि फरक नपर्ने भन्दै उनले कार्ल माक्र्सको उदाहरण समेत दिए । प्रशिक्षणमा प्रचण्डले नयाँ विचार र नयाँ नेतृत्व आउँछ भने त्यसो आफूले स्वीकार गर्ने समेत बताएका छन् । प्रचण्डले कार्यक्रममा आफूहरूसंग तीनवटा विकल्प मात्रै भएको बताएका थिए । उनले कि नेतृत्व लिन अगाडी बढ्ने होइन भने राम्रो पार्टी बनाएर नेतृत्वलाई हिजोको जस्तै सफल बनाउने, त्यो पनि सकिँदैन भने पार्टी विघटन गर्नुपर्ने बताएका थिए ।

उनले नेताहरूले जनता र नेतृत्वलाई ढाँट्ने गरेकाले अहिले माओवादीबाट जनताको आकर्षण घटेको र पार्टी थप जटिल अवस्थामा पुगेको स्मरण गराएका थिए । ति नेताका अनुसार प्रचण्डले पार्टीका लागि नयाँ योजना ल्याउन र संगठन व्यवस्थित गर्न नेताहरूलाई आग्रह गरेका थिए । उनले पार्टीलाई कांग्रेस, एमाले भन्दा पृथक बनाउन नसक्ने हो भने जनताको आकर्षण घटेर जाने भन्दै जनतालाई ढाँटेर, छलेर काम नगर्न आग्रह समेत गरे ।

यसअघि माओवादीको भातृसंगठन वाइसिएलको कार्यक्रममा पनि प्रचण्डले नेताहरूप्रति आक्रोश ब्यक्त गरेका थिए । उनले नयाँ पुस्ताले चाहने हो भने नेतृत्व छाड्न आफू तयार रहेको समेत बताएका थिए । त्यतिमात्र होइन उनले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा जोडतोडले उठाउन पनि आग्रह गरेका थिए । त्यसलगत्तै उनले एक कार्यक्रममा अहिलेको प्रणालीले जनतालाई खुसी पार्न नसकेकाले, जनताको कुनै पनि समस्या समाधान गर्न नसकेकाले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनैपर्ने बताएका थिए ।

आगामी पुस ११ देखि १३ सम्म माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ । त्यहीअनुसार आफ्ना नेताहरुलाई क्रियाशील बनाउने प्रयासमा प्रचण्ड लागेका छन्। उनले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशको प्रशिक्षण सकेका छन्।

तत्कालिन नेकपालाई सर्वोच्च अदालतको आदेशले खारेज गरेपछि पुरानै अवस्थामा फर्किएको माओवादी केन्द्र निकै कमजोर बन्दा पनि नेताहरू आफ्नै धुनमा लागेको भन्दै पार्टीमै आलोचना हुने गरेको छ।त्यतिमात्र होइन प्रचण्डलगायतका नेताहरूले विलाशी जीवनयापन गर्न थालेपछि माओवादी बिग्रिएको चर्चाबीच फरिएको प्रचण्डको शैलीले केहि आशा पलाएको अगुवा कार्यकर्ताले बताउन थालेका छन्।

माओवादीका अर्का एक नेताका अनुसार माथिको शैलीकै कारण कार्यकर्ता लेवलमा समेत नकारात्मक संस्कार संचार भएकाले पार्टी बनाउन निकै कठिन छ।तर माओवादीका धेरैजसो कार्यकर्ताहरू पार्टीको निष्ठामै रहेकाले यो असम्भव भने नरहेको उनले बताउँछन्।उनले माओवादीमा टिके शैलीमा नेतृत्व छान्ने काम र गोजीका मान्छेलाई अवसर दिने काम बन्द गर्नेहो भने पार्टीको आधा समस्या समाधान हुने बताए।

माओवादेका नेता अमनलाल मोदीका अनुसार पार्टी नेतृत्वले सहि गर्न खोजेपनि केहि अवसरवादी र बिचौलिया नेताहरूले समस्या बनाएका छन्।कतिपय नेताहरूले पटक पटक अवसर पाउने तर भनसुन र बार्गेनिङ नगर्नेले अवसर नै नपाउने अवस्था पार्टीमा बनेको उनले बताए।मोदीका अनुसार पार्टीमा ठुला समस्या नभएको तर उचित व्यवस्थापन नभएकैले समस्या ठुला देखिएको बताए।उनले भने, ‘माओवादीमा अहिले ठुला समस्या छैनन्, व्यवस्थापन नहुँदा ठुला जस्ता देखिएका हुन्’
उनले सबै इमान्दार बनेर लाग्ने हो भने माओवादी पार्टी सुधार्न धेरै समय नलाग्ने बताए।माथिदेखि तलसम्म इमान्दार तरिकाले लागे अर्को चुनावमा पहिलो पार्टी बनाउन सकिने उनले बताए।

अर्का युवा नेता अनिल शर्माले भने माथिबाटै संस्कार बिग्रेको बताउँछन्। उनका अनुसार पार्टी नेतृत्वले कार्यकर्ताको विश्वास गर्न नसकेको बताउँछन्।पार्टीले कार्यकर्ताको विश्वास गर्ने र सहि समयमा सहि निर्णय लिने हो भने माओवादीमा त्यति ठुलो समस्या नभएको शर्माले बताए।’कार्यकर्तामा निष्ठा छ तर नेतृत्व चुकेपछि समस्या हुँदोहरेछ’ शर्माले भने।

शर्माले पनि माओवादी आगामी चुनावसम्म एक नम्बर पार्टी बनाउन सकिने बताए।’केहि इफोर्ट लगाउनुपर्छ, उचित नेताहरूलाई जिम्मेवारी दिनुपर्छ, पार्टी एक नम्बर बन्न समय लाग्दैन’ उनले भने।