गठबन्धनमा खटपट: एजेण्डामा प्रवेश नगर्दै नेताहरू बैठकबाट उठेर हिँडे - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

गठबन्धनमा खटपट: एजेण्डामा प्रवेश नगर्दै नेताहरू बैठकबाट उठेर हिँडे



काठमाडौं- गठबन्धनमा समस्या आएको चर्चा चलिरहेका बेला सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक कुनै एजेण्डामा प्रवेश नै नगरी सकिएको छ। बैठकमा कुनै एजेण्डामा प्रवेश नगर्दै नेताहरू उठेर हिँडेपछि बिना निष्कर्ष सकिएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठक एजेण्डामै प्रवेश नगरी सकिएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन । उनले भनिन्, कुनै एजेण्डामै प्रवेश नगरी हामी उठ्यौं। उपेन्द्रजी आउन ढिलो हुने र माधवजीको अरु कार्यक्रममा जानुपर्ने भएपछि भोलि बस्ने गरी उठ्यौं।’

आज एजेण्डामै प्रवेश नगरेपछि भोलि बिहान ९ बजे बस्ने सहमतिमा भएको बताइएको छ । गठबन्धनको बैठकअघि नेपाली कांग्रेस बाहेकका ३ पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो।

उपेन्द्र यादवको निवासमा भएको भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बताइएको छ । मन्त्रिपरिषद विस्तार र अमेरिकी परियोजना (एमसिसी)को विषयमा पनि छलफल भएको थियो।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको दुई महिना पुग्न लाग्दासमेत अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। सरकारलाई पूर्णता दिन शीर्ष नेताबीच भागबण्डा अझै मिलेको छैन। समाजवादी र जसपाले उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि सहमति बन्न सकेको थिएन।

एमसिसीको विषयमा पनि गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ। प्रधानमन्त्री देउवा एमसिसी अगाडि बढाउने पक्षमा छन्। तर, प्रचण्ड संशोधनबिना संसदबाट पास गर्न नहुने अडानमा छन्।

एमसिसीको उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएपछि गठबन्धनमा समस्या देखिएको छ। प्रधानमन्त्री देउवा एमसिसीबारे गठबन्धन समान धारणा बनाएर अघि बढ्न चाहन्छन्। तर, सबै पार्टीबीच सहमति बन्ने परिस्थिति छैन। आजै काठमाडौं आएकी सुमारले पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी छन्। ओलीको बालकोटस्थित निवासमा पुगेर फातिमा नेतृत्वको टोलीले एमसीसीमा अध्यक्ष ओलीको धारणाबारे चासो व्यक्त गरेकी थिइन्। तर ओलीको जवाफले सुमार निराश भएर फर्किएको बताइएको छ ।

उनलाई जवाफमा ओलीले भने, ‘हामी अपोजिसनमा छौं। रुलिङ पार्टीको के पोजिसन हो? त्यो पोजिसन क्लियर गरेपछि मात्रै हाम्रो पोजिसन क्लियर हुन्छ। हिजो सरकारमा हुँदा हामीले हाम्रो प्रयास अघि बढाएका हौं। आज हामी अपोजिुनमा भएपछि हामीले अपोजिसन पार्टीको हिसाबले खेल्ने रोल हामीले खेलिरहेका छौं। त्योभन्दा बढी गर्नु हतारको विषय हुन्छ भन्ने हामीले भन्यो। रुलिङ पार्टीको पोजिसन आएपछि हाम्रो पार्टीभित्र छलफल हुन्छ। त्यसपछि मात्रै हामी आधिकारिक निर्णय गछौं। त्यो विषय नै नआई हामीले हतारिएर निर्णय गर्न मिल्दैन।’

चारदिने भ्रमणमा आएकी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ।
कार्यतालिकाअनुसार उपाध्यक्ष सुमारले पहिलो भेट ओलीसँग गरेकी हुन्। ओलीपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेता भेट्ने कार्यतालिका छ। नेपालमा एमसिसीकोचर्को विरोध भइरहेको छ। भ्रम चिर्न सरकारले एमसिसीबारे ११ प्रश्न सोधेको थियो।

एमसिसीले दिन लागेको सहयोग सामरिक नभएको, नेपालको संविधानभन्दा माथि नरहेको तथा यो सहयोग अमेरिकाको हिन्द–प्रशान्त रणनीति अन्तर्गतको नभएको जवाफ नेपाललाई पठाएको थियो। एमसिसीले नेपाललाई दिने सहायता सैनिक क्षेत्रसँग असम्बन्धित रहेको, तोकिएको समयमा काम सकियोस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी नेपालको संविधानभन्दा माथि नरहेको र यसका लागि प्रयोग हुने जमिन नेपालकै स्वामित्वमा रहने जवाफमा उल्लेख गरेको छ।