सत्ता गठबन्धन फुट्दै : तीन दल छुट्टै छलफलमा
काठमाडौं- एमसीसीका कारण सत्ता गठबन्धनमा खट्पट आएको चर्चा चलिरहेका बेला गठबन्धनकै तीन दलको छुट्टै बैठक बसेको छ । वैठक उपेन्द्र यादवको निवास बालकुमारी ललितपुरमा बसेको बताइएको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरु सहभागि छन् । गठबन्धन भित्रकै नेपाली कांग्रेस भने सहभागी छैन ।
बिहिबार बिहानैबाट तीन नेता उपेन्द्र यादवको निवासमा छलफलमा जुटेका थिए । एमसीसीबारे गतिबिधि तिब्र हुँदै गर्दा तीन नेता छुट्टै बैठकमा बस्नुलाई अर्थपूर्ण मानिएको छ ।
गठबन्धनकै एक दल राष्टिय जनमोर्चाले भने यसअघि नै आन्दोलनमा सहभागी भैसकेको छ । तीनदलको बैठकमा पनि जनमोर्चाका नेताहरू सहभागी छैनन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा एमसीसी पास गर्न खोजेपछि गठबन्धनमा खटपट सुरू भएको थियो । त्यसपछिका घटनाक्रमले गठबन्धनमा गम्भीर समस्या आइसकेको देखिएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको भातृसंगठन एमसीसीविरुद्ध आन्दोलनमा गैसकेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास हुनै नदिने घोषणा गरिसकेका छन् । जसपामा पनि एमसीसीकै कारण खटपट भैसकेको छ । अध्यक्ष उपेन्द्र यादव चुपचाप हुँदा संघीय अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसी पास गर्नुपर्ने लाइनमा खटिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबन्डा र मन्त्रिपरिषद् विस्तार नगरेर गठबन्धनका दलहरूलाई पेल्ने नीति लिएपछि गठबन्धनमा समस्या आइसकेको जानकारहरूले बताउने गरेका छन् ।
माओवादी केन्द्र दुई मन्त्रालय सहित सरकारमा सहभागी भईसकेको छ भने जसपा र नेकपा (एस) सरकारमा सहभागि भएका छैनन् । यस्तो अवस्थामा उपेन्द्र निवासमा यही तीन दलको छुट्टै बैठक बसेपछि माहोल अर्कैतर्फ मोडिएको छ ।
प्रधानमन्त्री देउवासँग सामुहिक छलफल गर्न तीन दलको बैठक बसेको स्रोतले जनाएको छ । गठवन्धनभित्र देखा परेका समस्या, संसदमा प्रतिपक्षी एमालेले गरेको विरोध र देखाएको प्रर्दशन, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाई र विवादित वनेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा साझा धारणा बनाउनका लागि छलफल केन्द्रीत भएको स्रोतको भनाई छ ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स राजनीतिक दलका नेताहरुसँगको भेटघाट गर्ने र नेपालमा एमसीसी पारित गराउने भूमिका निर्वाहका लागि काठमाडौं आएपछि प्रमुख तीन दलले एउटै धारणा बनाउने र सोही अनुसार प्रस्तुत हुने योजनाका साथ पनि यो छलफल भएको हुन सक्ने अनुमान लगाइएको छ ।