काठमाडौंमै बेहाल: कतै बाढी कतै डुबान
काठमाडौं- आइतबार रातिदेखि परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका कतिपय स्थान डुबानमा परेका छन् भने कतिपय क्षेत्रमा भने बाढी नै आएको छ । वर्षाका कारण बागमती, बिष्णुमती, धोवी खोलालगायत नदीमा बाढी समेत आएको छ।
बागमती, बिष्णुमती, धोवी खोला नजिकका सर्वसाधारण बाढीका कारण अफ्ठ्यारोमा परेका छन् । तटीय क्षेत्रका बासिन्दाका लागि तनावको अवस्था बनेको छ । बिष्णुमतिमा आएको बाढीले डल्लु क्षेत्रका स्थानीय प्रभावित बनेका छन्। धेरै बाढी पसेको छ।
स्थानीयको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएको छ। वर्षाका कारण काठमाडौंका अधिकांश स्थान जलमग्न बनेका छन्।
त्यस्तै ललितपुरको सुन्दरीघाटमा बस्तीभित्र पानी पसेको छ । यस्तै बल्खुको सुकुम्बासी बस्तीमा पनि पानी पसेको छ । पानी पसेपछि यी क्षेत्रहरू डुबानमा छन् ।
यस्तै काठमाडौं आसपासका क्षेत्रहरूमा पनि निरन्तर पानी परिरहेको छ ।बनेपामा सडकमै पानी जम्दा आवतजावतमा कठिनाइ भएको छ । लगातारको वर्षाले बागमती र यसका सहायक नदीमा पनि जलसतह बढेको छ।