कारबाही गर्ने चेतावनी सहित ओलीले जारी गरे १४ पन्ने निर्देशन
काठमाडौं- नेकपा एमालेले पार्टी एकताको पक्षमा उभिन नेता/ कार्यकर्ता र जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिएका हुन् ।
‘यसका लागि पार्टीको आन्तरिक एकतालाई सबल बनाउन, विगतका आरोह–अवरोहबाट गम्भीर शिक्षा लिन र आसन्न चुनौतीलाई सामना गर्न पार्टीलाई वैचारिक, राजनीतिक, संगठनात्मक र भावनात्मक रुपमा तम्तयार राख्न सबै कमरेडहरूलाई सक्रिय योगदान गर्न निर्देशित गरिन्छ’, सर्कुलरमा भनिएको छ ।
गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा स्वार्थहरूको गठजोड एवं ईष्या, कुण्ठा र प्रतिशोधको भावनामा उभिएको वर्तमान सत्तापक्षीय गठबन्धन आधारभूत रुपमा अवसरवादी एवंम दक्षिणपन्थी चरित्रको रहेको उल्लेख गरिएको छ ।
‘यस घटनाले मुलुकको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक प्रणाली, संवैधानिक सुव्यवस्था र जनताको सर्वोच्चता माथि चुनौती खडा गरेको छ’, ओलीले निर्देशनमा भनेका छन्, ‘हाम्रो पार्टीले यस परिस्थितिको संवैधानिक, लोकतान्त्रिक र जनपरिचालनका विधिबाट सामना गर्ने अठोट गरेको छ । स्वार्थहरूको गठजोड एवं ईर्ष्या, कुण्ठा र प्रतिशोधको भावनामा उभिएको वर्तमान सत्तापक्षीय गठबन्धन आधारभूत रुपमा अवसरवादी एवंम दक्षिणपन्थी चरित्रको छ ।’
एमालेले पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशको प्रावधान संविधानको अक्षर र भावना विपरीत रहेको निष्कर्षसहित कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशन दिएको छ ।