मुख्यमन्त्री बनेपछि भीम आचार्यको 'युटर्न', मानेनन् ओलीकै निर्देशन - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

मुख्यमन्त्री बनेपछि भीम आचार्यको ‘युटर्न’, मानेनन् ओलीकै निर्देशन



काठमाडौं- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत निर्देशन नमानेपछि एमालेमा तनाव सुरू भएको छ । मन्त्रिपरिषद विस्तारका लागि ओलीले भनेका नेताहरूलाई छाडेर माधव नेपाल निकट रहेका नेताहरूलाई एकाएक नितुक्ति गरेपछि बालकोटमा चिसो पसेको बताइएको छ।

बिहिबार मुख्यमन्त्री बनेका आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । आचार्यले मन्त्रीपरिषद विस्तार गर्दा निवर्तमान मुख्यमन्त्री शेरधन राईसँग गरेको सम्झौता पनि तोडेका छन् । राई निकट २ जनालाई मन्त्री बनाउने सहमति आचार्यले उल्लङ्घन गरेको खुलेको छ। राईले प्रदेशसभा सदस्य तुलसी न्यौपाने र अर्का एक जनालाई मन्त्री बनाउन भनेका थिए ।

निवर्तमान मुख्यमन्त्री राईको कुरा अन्तिम समयमा नमानेपछि राईले ओलीलाई फोन गर्न लगाएको बुझिएको छ । ओलीको फोनको समेत वास्ता नगरेर आचार्यले आचार्यले आफूनिकट २ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

आचार्यले उनीनिकट सांसदहरूलाई नियुक्त गर्ने तयारी गरेपछि राईले त्यसो नगर्न दवाव दिएका थिए । उनको दवावले समेत काम नगर्ने भएपछि एमाले अध्यक्ष ओलीले समेत फोन गरेर न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए। तर आचार्यले त्यसो नगरेपछि ओली फायर बनेका छन्। ओलीले यसबारे शुक्रबार आफू निकट नेताहरूसंग गुनासो गरेका थिए ।

मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री भएको भोलिपल्ट नै राई र ओलीको सल्लाह र निर्देशन मान्न छाडेको भन्दै शुक्रबार साँझ बालाकोटमा चर्चा भएको थियो । उनले मन्त्रिपरिषद विस्तारको सुरुवातमै राई मात्र नभएर पार्टी अध्यक्ष ओलीको समेत कुरा मान्न आनाकानी गर्दै आफूनिकट बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मात्र मन्त्री बनाएका छन्।

न्यौपाने ओली समूहमा लागेका सांसद हुन्। उनलाई मन्त्री बनाउने बचन राईले दिएका थिए । पार्टी अध्यक्षकै निर्देशन नमानेपछि प्रदेश एक एमालेमा खैलाबैला नै मच्चीएको छ । आचार्यले राई र ओलीको निर्देशन किन मानेनन् भन्ने खुलेको छैन । तर ओली समूहमा रहँदा उनले विश्वासको मत नपाउने र मुख्यमन्त्री गुमाउने पक्का छ । उनले माधव नेपाल नेतृत्वको पार्टीमा लागेर पद जोगाउन खोजेको नेताहरूले बताएका छन्।

मुख्यमन्त्री आचार्यले ताप्लेजुङका ​साम्सोहाङलाई सामाजिक विकासमन्त्री बनाए भने तिवारीलाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री नियुक्त गरे। दुवै मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन्।