देउवाले भने : निधिको कार्यालयमा नजानू, गतिविधिमाथि निगरानी राख्नू - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

देउवाले भने : निधिको कार्यालयमा नजानू, गतिविधिमाथि निगरानी राख्नू



काठमाडौं– १४औँ महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरू विभाजित हुन थालेका छन् । नेताहरूले आ-आफ्ना तयारी थाल्दा उपसभापति विमलेन्द्र निधिले भने महाधिवेशन लक्षित कार्यालय नै सुरू गरेका छन् ।

उपसभापति निधिले कार्यालय उद्घाटन गर्दैगर्दा सभापति शेरबहादुर देउवाले भने आफू निकट केन्द्रीय सदस्यलाई निधिको कार्यालयमा नजान निर्देशन दिएका छन्। स्रोतका अनुसार देउवाले निधिका कुनैपनि कार्यक्रम र कार्यालयमा नजान आदेश दिएका छन् ।

निधिले सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेपछि तर्सिएका देउवाले केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा डाकेर कार्यक्रममा नजान आदेश दिएका हुन्। देउवाले त्यहाँ गएको सुचना पाएमा राम्रो नहुने भन्दै निधिका गतिविधिमा नजर राख्न निर्देशन दिएका थिए ।

एक नेताले बताए अनुसार देउवाले आदेश दिएकै कारण जान तयार भएका कतिपय नेताहरू पनि रोकिएका थिए । काठमाडौंको नयाँ बानेश्वरमा निधिले शुक्रबार विभिन्न धार्मिक पुजारीहरूलाई बोलाएर कार्यालय उद्घाटन गरेका छन् ।

उपसभापति निधिले कांग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिका लड्ने प्रयोजनका लागि सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्। निधि सभापतिमा उठ्दा सबैभन्दा बढी क्षति देउवालाई नै हुने देखिएको छ ।