प्रचण्डसँग टसल परेपछि पार्टीको कारबाहीमा परे नारायणकाजी - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

प्रचण्डसँग टसल परेपछि पार्टीको कारबाहीमा परे नारायणकाजी



काठमाडौ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टसल परेपछि नारायणकाजी श्रेष्ठ को जिम्मेवारी खोसिएको छ । दुई नेताबीच बोलचाल बन्द भएको चर्चाबीच उनी घटुवामा परेका छन् । पार्टी प्रवक्ता भैसकेका नेता श्रेष्ठलाई अध्यक्ष प्रचण्डको निर्देशनमा जिम्मेवारी खोसेर प्रवास समिति हेर्न लागाइएको छ ।

केन्द्रीय समिति बैठकबाट जिम्मेवारी बाँडफाँड गर्दा श्रेष्ठ घटुवामा परेका हुन् । यसअघि पार्टीमा प्रचण्डपछिको नेता मानिएका श्रेष्ठ पछिल्लो समय अध्यक्ष प्रचण्डसंग असन्तुष्ट बन्दै आएका थिए । श्रेष्ठभन्दा बढी जिम्मेवारी उनीभन्दा पछिल्ला नेताहरूले पाएका छन्।

नयाँ जिम्मेवारी अनुसार अन्य नेताहरूलाई दोहोरो जिम्मेवारी दिँदा उनको भने पद खोसेर सामान्य जिम्मेवारीमा लगाइएको छ । उनले एउटा मात्रै जिम्मेवारी पाएका छन् । उनले प्रवास समितिको मात्रै जिम्मेवारी पाएको उल्लेख गरिएको छ, त्यो पनि नामको मात्र ।

उनको जस्तै जिम्मेवारी सुरेन्द्र कार्कीलाई दिइएको छ । उनको विभागसँग मिल्ने विदेश मामिला विभाग कार्कीलाई दिइएको छ । यसरी हेर्दा श्रेष्ठ माओवादीमा कारबाहीमा परेको जस्तै देखिन्छन। भएका जिम्मेवारी खोसेर सामान्य जिम्मेवारीमा लैजानुलाई राजनीतिमा कारबाही भन्ने गरिन्छ ।

पहिले नारायणकाजी भन्दा पछिका मानिएका जनार्दन शर्मा र वर्षमान पुनले उनले भन्दा बढी जिम्मेवारी पाएका छन् । पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् । अर्को महत्वपूर्ण स्कुल विभाग भने प्रचण्ड आफैंले राखेका छन् । वर्षमान पुनले पनि आर्थिक तथा योजना र केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाएका छन् ।

पार्टीले निर्णय नै गरेर कारबाही नगरेको तर यस जिम्मेवारी खोसेर घटुवा गर्नु एक प्रकारको कारबाही नै भएको र यसलाई कारबाही भन्न मिल्ने माओवादीकै एक नेताले बताए । उनका अनुसार श्रेष्ठ पछिल्लो समय नेतृत्वसँग असन्तुष्ट थिए ।

पछिल्लो समय नारायणकाजी एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुँदै गएको माओवादीमा चर्चा चल्न थालेको छ । उनले राष्ट्रिय सभामा पनि संसद विघटन हुनुमा प्रचण्ड पनि दोषी भएको संकेत गर्दै भाषण गरेका थिए । नयाँ सरकार बनेलगत्तै सरकारमा जाने विषयमा उनले प्रचण्डसँग बार्गेनिङ गर्दै आएका छन्। तर प्रचण्डले भने अहिले सरकारमा लैजान नसकिने बताएका छन्।

हालैको केन्द्रीय समिति बैठकको निर्देशन अनुसार बसेको स्थायी समिति बैठकले बाँडफाँट गरेको हो। माओवादी केन्द्रले प्रदेश समितिमा पनि जिम्मेवारी बाँडफाँट गरेको छ तर अझै पूर्णता पाउन बाँकी छ।

माओवादीले सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरु तोकेको छ तर केही प्रदेशमा सचिवहरु तोक्न बाँकी छ। प्रदेश १ मा राम कार्की ‘पार्थ’ इन्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रदेश–२ मा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत इन्चार्ज र सुदूरपश्चिममा खगराज भट्टले इन्चार्जको भूमिका पाएका छन्।

प्रदेश १, प्रदेश २, वागमती र गण्डकीमा सचिव खाली राखिएको छ । त्यस्तै सुदूरपश्चिममा अध्यक्ष र सचिव पनि खाली छ ।