यसपटक पनि सक्षम हुने बाटोमा छैनन् देउवा - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

यसपटक पनि सक्षम हुने बाटोमा छैनन् देउवा



काठमाडौं- पटकपटक असंवैधानिक कदम चालेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर बनेको शेरबहादुर देउवा सरकार सुरुवातमै असक्षम देखिएको छ । सुरुवातकै कतिपय कदममा आफ्नै पार्टीभित्र विवाद चर्किएको छ भने गठबन्धनमा समेत खटपट सुरू भएको छ ।

जनताका सबै अपेक्षा पूरा गर्ने साझा कार्यक्रम सार्वजनिक गरिसकेको शेरबहादुर देउवा नेतृत्वको सरकार मन्त्रिपरिषद् विस्तारमै अडकिएपछि सरकारमाथि विभिन्न प्रश्न खडा भएका छन् । मन्त्रिमण्डल विस्तार नहुँदा राज्यसंयन्त्रका दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित भएका छन् ।

मन्त्रालय छ, मन्त्री छैनन् । विभागीय मन्त्रीमा प्रधानमन्त्रीको नाम त छ तर न मन्त्रालयले मन्त्री चिन्छ, न मन्त्रीले मन्त्रालय । मन्त्री नहुँदा आर्थिक वर्ष सकिएलगत्तै हुनुपर्ने कर्मचारी सरुवा ठप्प छ । मन्त्रिपरिषद् विस्तारमा गरिएको ढिलाइले नियमित काम समेत प्रभावित बन्दै गएको छ ।

प्रधानमन्त्रीको असक्षमता र दलहरुबीच पदको लुछाचुँडीमा मन्त्रिपरिषद् विस्तारको हलो अड्किएको राजनीतिक विश्लेषकहरू बताउँछन् । एकातिर पहिले नै असक्षम रहेका देउवा यसपटक पनि आफ्नो असक्षमताको दाग सफा गर्ने अवसर चुकाउँदै गएको विश्लेषण छ ।

सरकारको नेतृत्व गरेको कांग्रेस सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल पक्षलाई देखाएर आलोचनाबाट उम्किने प्रयास गरिरहेको छ । कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्माले एमालेको नेपाल पक्षले एउटा निर्णय गरिसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । तर नेपाल समूह र माओवादी केन्द्रले भने आफूहरूको कारण मन्त्रिपरिषद् विस्तारको काम नरोकिएको बताएका छन्।

तर, विश्लेषकले भने एमालेको नेपाल पक्षलाई देखाएर आलोचनाबाट पन्छिन खोज्नु सरकारको अक्षमता भएको बताउने गरेका छन् । मावधकुमार नेपालले तक्काल सरकारमा नआउने भनिरहेको सन्दर्भमा उनको समुहलाई पर्खेर मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु भनेको अयोग्यता र असक्षमताको पराकाष्ठको रुपमा हेर्न सकिने विश्लेषकको दाबी छ ।

कांग्रेसका दुई, माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाले निजी सचिवालय समेत बनाउन सकेका छैनन् ।उनको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।

यस्तो अवस्थामा देउवामाथि चर्को आलोचना हुन थालेको छ । कांग्रेस वृत्तमा देउवाको यो कदमले कांग्रेसलाई थप क्षति पुराउने चर्चा हुन थालेको छ।