माधव नेपालले भने : वामदेवजस्तो अपमानित भएर एमालेमा बस्न सकिएन
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेले वामदेव गौतमजस्तो अपमानित भएर एमालेमा बस्न नसकिने बताएका छन् । उनले जनविश्वास कायम राख्न नसकेको भन्दै आफ्ना लागि मैदान खाली रहेको समेत बताए।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको बताए ।
नेपालले भने– एमालेले जनविश्वास कायम राख्न सकेन । हामी अन्तिमसम्म पनि सहज बाटो (एमाले एकता)को पक्षमा छौं । तर न रुन सकिने, न हाँस्न सकिने जस्तो अवस्था नआओस । सहज बाटो नै रोज्न खोजेका छौं, अपमान सहेर एकता हुन्न, त्यो बेला असहज बाटो लिनु बाध्यता हो ।
एमालेमा वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने र घर न घाटको अवस्था आउने अवस्था आफ्नो लागि स्वीकार्य नहुने नेपालले बताए । असहज बाटो रोज्ने आफ्नो चाहना नभए पनि बाध्यता हुन सक्ने भन्दै उनले एमाले विभाजनको संकेत गरेका छन् ।