एमाले एकताको संकेत, कार्यकर्तामा उत्साह
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको एकताकै पक्षमा देखिएका छन् । उनले आफूनिकटको बैठकमा सम्मानजनक एकता आफ्नो चाहना भएको र त्यो बाहेक केहि नसोचेको बताएका छन् ।
सोमबार आफूनिकट नेताहरूसँग छलफलका क्रममा नेता नेपालले अहिलेको तरिकाले नभएर सम्मानजनक तरिकाले एकता हुनुपर्ने बताएको रघुजी पन्तले जानकारी दिएका छन्। बैठकमा पार्टी एकताका लागि भइरहेका घनिभूत प्रयासहरुबारे छलफल बताइएको छ।
नेता नेपाललाई उद्धृत गरी सोमबार साँझ विज्ञप्ति जारी गर्दै पन्तले भनेका छन्, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ। त्यसैले मैले बारम्बार एकता हाम्रो ईच्छा र चाहना हो भन्ने गरेको छु। सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,’
एकता प्रयासबारे नेता नेपाललाई ओली पक्षसँग वार्ता गरिरहेका नेताहरूले जानकारी गराएका थिए। बैठकलाई सम्बोधन गर्दै नेपालले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका थिए।
छलफलका क्रममा स्थायी कमिटी सदस्यहरूले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शब्दचयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने कुरामा जोड दिइएको थियो। पार्टी एकताको महत्वपूर्ण कार्यलाई परिणाममा पुर्याउन जिम्मेवार व्यक्तिहरू संयमित, जिम्मेवार र संवेदनशील भएर लाग्नुपर्नेमा स्थायी कमिटी सदस्यहरूले जोड दिएका थिए।
बैठकमा वरिष्ठ नेता नेपालसहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाललगायतको उपस्थिति थियो।
यो बैठकपछि दुई शिर्ष नेताहरूबीच छलफलको वातावरण बनेको बताइएको छ । मंगलबार अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता तय भएको समेत स्रोतले बताएको छ । दुई नेता भेट्ने बिषयले कार्यकर्ता भने निकै उत्साहित देखिएका छन् ।