आफ्नै नेताहरूबाट बाइपास भए माधव नेपाल
काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आइतबार १३ घण्टा लगाएर गरेको सहमतिमा वरिष्ठ नेता माधव नेपाललाई नै बाइपास गरिएको खुलेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले तयार पारेको मस्यौदामा वरिष्ठ नेता नेपालले पटक पटक असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गरिएको हो।
स्रोतका अनुसार माधव नेपाल सकेसम्म अदालतको फैसला अगाडी सहमति गर्ने मुडमा थिएनन् । सहमति गर्नैपरे पनि उनले सर्वोच्च अदालतको मुद्दाबारे केहि उल्लेख नगरी सहमति गर्ने पक्षमा थिए । आइतबार बिहान पनि माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल समुहका नेताहरु मस्यौदासहित लिएर उनको निवास कोटेश्वर पुगेका थिए । तर नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै सच्याउन भनेका थिए ।
तर नेताहरूले नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गरिछाडे त्यो पनि नेता नेपालले सच्चाउन भनेको बुँदा नसच्चाई । स्रोतका अनुसार पछिल्लो समय नेपाल समुहका कार्यदल सदस्यहरू केहिदिनदेखि नेपाललाई बाइपास गरेरै भएपनि सहमति गर्ने मुडमा थिए ।
नेपालको असहमति रहेको मस्यौदालाई नसच्याइ अहिले उनलाई बाइपास गरेर सहमति गर्नु सामान्य संकेत नभएको नेता नेपाल निकट एक नेताले बताए । नेता नेपालले भने आफूलाई बाइपास गरेर गरिएको सहमति मान्य नहुने कार्यदलका सदस्यलाई जवाफ दिएका छन् ।
आइतबार बिहान नेता नेपालले अस्विकार गरेको बुँदासहित ओली पक्षसँग सहमति गर्ने नेताहरूले तयारी गरिसकेका थिए । दिनभरी यसै बिषयमा नेता नेपाललाई फकाउने प्रयास भएको थियो । नेपाल यो मस्यौदामा कन्भिन्स नभएपछि बैठक चलिरहेको बेला नेता घनश्याम भुसाल सिंहदरबार नेता नेपाललाई भेट्न पुगेका थिए ।
स्रोतका अनुसार नेपाल पक्षका नेताहरू भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे नेपाललाई बाइपास गरेरै भएपनि सहमति गर्नैपर्ने लाइनमा लागेका थिए । घनश्याम भुसाल र रघुजी पन्त नेता नेपालको अडानसँग सहमत थिए । अघिल्लो रातको भर्चुवल बैठकमा पनि नेपाल पक्षका धेरै नेताहरूले यस्ता बुँदामा सहमति गर्न नहुने बताएका थिए ।
नेपाल समुहका एक नेताका अनुसार भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले नेपालको साथ् छाड्ने संकेत पहिले नै देखाएका थिए । कार्यदलमा भएका गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेलाई भिम रावलले साथ् दिएपछि उनीहरू यसमा सफल भएको उनको दाबी छ । विष्ट र पाण्डेले लगातार ओलीसँग मिल्नैपर्ने दवाव लिएर नेपालसँग जाने गरेका थिए ।