अब निजी अस्पतालमा उपचार गर्ने संक्रमितको खर्च सरकारले नदिने
काठमाडौं । सरकारले अब निजी अस्पतालमा उपचार गरेको कोरोनाको उपचार खर्च नदिने भएको छ । सरकारले निजी अस्पतालमा उपचार गर्नेहरूको खर्च नबेहोर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वक सूचना जारी गर्दै यस्तो जानकारी गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार एक सूचना जारी गरेका छन् ।
सुचनामा सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको बताएका छन् ।
सूचनामा भनिएको छ, ‘कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराइने छ ।’
अब उपरान्त सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुलाई मात्रै कोभिड–१९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ ।
कोरोना महामारी उत्कर्षमा पुगेको बेला सरकारले कोभिड–१९ उपचारका लागि तोकिएका सरकारी तथा सेवा सम्झौता गरेका निजी अस्पताललाई उपचारबापतको खर्च सोधभर्ना गराउने निर्णय गरेको थियो ।