कांग्रेसमा तरङ्ग ल्याउने विमलेन्द्र निधिको सक्रियता - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

कांग्रेसमा तरङ्ग ल्याउने विमलेन्द्र निधिको सक्रियता



काठमाडौं- नेपाली कांग्रेसमा अहिले नेतृत्वको गरमागरम बहस भैरहेको छ । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेताहरूसँग गरेको ब्यापक भेटघाटले कांग्रेसमा खैलाबैला नै मच्चिएको छ ।

उनले नेताहरूसंगको भेटघाटलाई तीव्रता दिएका छन्। सोमबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा भएको तीन नेताको भेटले तरङ्ग नै ल्याएको छ । निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री सिंहसँग भेट गरेका थिए भने त्यसपछि युवा नेताहरूसँग व्यापक छलफलमा जुटेका छन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा उनले संस्थापनइतरका केन्द्रीय सदस्यसँग छलफल गरेको एक नेताले बताएका छन्।छलफलमा केन्द्रीय सदस्य धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरू सहभागी थिए।

शनिबार देउवासँग भएको भेटमा आफू सभापतिमा लड्ने बताउँदै उनले सहयोग गर्न आग्रह गरेका थिए। निधिले सभापतिमा उम्मेदवारी दिए संस्थापन समूह अप्ठ्यारोमा पर्ने विश्लेषण हुन थालेको छ ।

तर, देउवाले आफैं दोहोरिने इच्छा राखेपछि निधिले भेटघाटलाई तीब्रता दिएका छन्। बिहान सभापतिका आकांक्षी तीन नेता निधि, कोइराला र सिंहबीच चलेको दुई घण्टा लामो छलफलमा पनि आगामी महाधिवेशनमा नेतृत्व चयनकै विषयमा कुराकानी भएको थियो।