कांग्रेस महाधिवेशन रोचक बन्दै: देउवालाई निधिको काउन्टर
काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोचक बन्ने बहेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा उठ्ने प्रस्ताव गरेसँगै उपसभापति विमलेन्द्र निधिले काउन्टर गर्ने भएका छन् ।
यसअघिनै आफू सभापतिमा लड्ने संकेत दिएका निधिले शनिबार देउवालाई सरप्राइज दिएका छन् । आसन्न महाधिवेशनमा फेरि सभापतिको उम्मेदवार बन्ने तयारीसहित निधिलाई बोलाएर देउवाले सहयोग खोजेका थिए ।
आफूलाई सघाउन सभापति देउवाले गरेको आग्रहपछि निधिले उल्टै आफू सभापतिमा उठ्ने बताएका छन् ।‘सभापतिमा पुनः उठ्छु। प्रदेश २ बाट धेरै महाधिवेशन प्रतिनिधि छान्नको लागि तपाईंले सहयोग गरिदिनुपर्यो।’
निधिसँग सहयोगको अपेक्षा राख्दै देउवाले भने। प्रत्युत्तरमा निधिले सभापतिमा देउवालाई साथ दिन नसक्ने जवाफ फर्काएका थिए। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी आफू बन्ने जानकारी पहिले नै दिएको उनले देउवालाई स्मरण गराएका थिए।
देउवालाई बताएका विषयमा जानकारी गराउँदै निधिनिकट स्रोतले भन्यो,‘१३औं महाधिवेशनमा तपाईंले १४औं मा मलाई सहयोग गर्ने वचन दिनुभएको थियो। म उठ्नेबारे पहिले पनि जानकारी गराइसकेको हुँ। तपाईंको साथ लिएर म सभापतिको उम्मेदवार बन्ने हो।’
निधिको बोलीलाई देउवाले नकार्न भने नसकेको बताइएको छ। उम्मेदवार बन्न स्वतन्त्रता रहेको उनले निधिलाई बताएका थिए। विगत लामो समयसम्म सहकार्य रहेकाले सभापतिकै सहयोगमा आफू उम्मेदवार बन्ने निधिले जिकिर थियो। ‘विगतमा तपाईंलाई मैले सहयोग गर्दै आएको छु। यसपटक सभापतिमा म उम्मेदवार बन्छु। प्रधानमन्त्री तपाईं बन्नुस्। मैले गर्ने सहयोग गरिरहन्छु,’ निधिले देउवालाई भने।
१४औं महाधिवेशनबाट सभापतिमा दोहोरिन चाहेका देउवाले सातवटै प्रदेशका आफूनिकटका नेताहरुलाई छलफल गर्ने भएका छन्। शनिबार बिहान देउवाले प्रदेश १ का केन्द्रीय नेताहरुलाई बोलाएका थिए। दिउँसो २ बजे प्रदेश २ का नेताहरुलाई छलफलका लागि डाकेका थिए।
निधिलाई भने देउवाले छुट्टै डाकेको बताइएको छ। दिउँसो ३ बजे निधि सभापतिनिवास बूढानीलकण्ठमा पुग्दा प्रदेश २ का नेताहरु देउवासँगको छलफलमा रहेका थिए।