मेलम्चीमा फेरि आयो भिषण बाढी
काठमाडौं- बाढीले तहसनहस भएको मेलम्चीमा फेरि भीषण बाढी आएको छ । शुक्रबार राती करिब ९ बजेतिर एक्कासी नदीमा ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको थियो ।
काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको थियो । चनौटेको रातो पुलमाथिबाट नदी बगिरहेको थियो ।
मंगलबार क्षति पुर्याएका सबै स्थानमा शुक्रबारको बाढीले थप क्षति पुर्याएको छ । बाढी हेलम्बु– २ को गणेशेबगर, मेलम्ची बजार, चनौटे, ग्याल्थुम, पुरानो बजार, पुलबजार, आमा ह्याल्मो यातायात बसपार्कलगायत क्षेत्रमा पसेको छ । ती स्थानमा बाढीले बगाएर ल्याएका ढुंगा, काठ र लेदो थप जम्मा भएको स्थानीयले बताएका छन्।
मंगलबारको विनाशकारी बाढीपछि त्यस क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी तीन सय ५० सुरक्षाकर्मी परिचालित छन् । उनीहरू उद्धार तथा राहतको कार्यमा खटिएका छन्। मंगलबारयता नै बाढीग्रस्त क्षेत्रका बासिन्दा खोला किनार छाडेर अग्लो स्थानमा बसिरहेकाले सुरक्षित छन्।
एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रासमा छन् । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको थियो । पछिल्लो बाढीले गरेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ