१२ जना पूर्व उपकुलपतिले दिए प्रधानमन्त्री ओलीलाई चेतावनी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

१२ जना पूर्व उपकुलपतिले दिए प्रधानमन्त्री ओलीलाई चेतावनी



काठमाडौँ– १२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाईचेतावनी दिएका छन्। हालै प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा. गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिइएको चर्चापछि यस्तो चेतावनी दिएका हुन् ।

पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण जोशी, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सुरक्षा गर्न सरकारसँग माग गरेका हुन्।

‘डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधि अनुरुप काम गर्न दिन हामी पूर्वउपकुलपतिहरु सरकारसँग जोडदार माग गर्दछौँ,’ उनीहरुले भनेका छन्।

कानुनी शासनको उपेक्षा गरेर झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनु दुर्भाग्यपूर्ण उनीहरुले बताएका छन्।

‘काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन र एवं कानुनी राज्यको उपेक्षा गर्नुमा अलिकति पनि नहिच्किचाउनु ठूलो दुर्भाग्यको कुरा हो,’ विज्ञप्तिमा उल्लेख छ।

आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिइएको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै त्यसबाट हुने शारीरिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने उनीहरुले चेतावनी दिएका छन्।