उपेन्द्र-बाबुरामले निर्वाचन आयोगलाई नै मुद्दा हाल्ने - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

उपेन्द्र-बाबुरामले निर्वाचन आयोगलाई नै मुद्दा हाल्ने



काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगले आइतवार दिएको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन् ।

आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै यादव भट्टराई पक्षले त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेको हो। जसपा नेता महेन्द्र राय यादवले नियम कानुनको साटो सेटिङका आधारमा आयोगले निर्णय गरेकाले त्यसविरुद्ध अदालत जाने बताएका छन् ।

उनले भनेका छन्, ‘सबैको भरोसा अदालत हो, अब अदालतले नै यसको छिनोफानो गर्छ’। यसबारे निर्णय गर्न अहिले बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा यादव भट्टराई पक्षको पदाधिकारी र कार्यकारिणी समितिका सदस्यहरुको अनौपचारिक बैठक बसिरहेको छ।

अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाका अनुसार आज पदाधिकारी बैठकबाट निर्णय गरेर भोलि सर्वोच्चमा रिट दर्ता गर्ने तयारी रहेको छ ।

गत १८ जेठमा सत्तासमीकरणबारे विवाद हुँदा जसपामा अध्यक्ष यादवले अर्का अधयक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, तथा कार्यकारिणी सदस्यहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी आयोगलाई निर्णय अध्यावधिक गरिदिन पत्र पठाएका थिए ।

त्यसलगत्तै अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई पनि सोही अनुरुपको कारबाही गरी अध्यावधिक गरिदिन पत्र पठाएका थिए । आयोगले त्यसैदिन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ को अनुसूची १८ को फारामसमेत भरेर त्यस अनुरुपका कागजात पठाउन भनेको थियो । यादव समूहले त्यो अनुरुपका सबै कागजात बुझाएको थियो । तर ठाकुर समूहले त्यसअनुरुपका कागजात बुझाएको थिएन ।

दुवैका दाबी अध्ययन गर्दा कुनैको पनि नियमसंगत नदेखिएको भन्दै दुवैका पत्र खारेज गर्ने निर्णय आइतबार गरेको थियो । उक्त निर्णयले महन्थ ठाकुर पक्ष उत्साहित देखिएको छ । उपेन्द्र यादव पक्ष भने आक्रोशित बनेको छ ।