सभामुखले डाकेको सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई पनि निम्तो
काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटाले संसद विकशित घटनाक्रमबारे छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्। विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे त्यहाँ छलफल हुने बताइएको छ ।
शुक्रबार दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ। नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुने बताइएको छ। सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट छन्। त्यसैले उहाँले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ।
मुद्दामाथि सुनुवाइ सुरु भएको छ। सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन्।