योगेश निकट पहाडी मन्त्री बन्ने भएपछि नेपाल समुहमा खैलाबैला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता योगेश भट्टराईका अत्यन्त निकट मानिने गणेश पहाडी समेटिएपछि माधव नेपाल समुहमा खैलाबैला मच्चिएको छ ।
नेपाल समूहभित्र नेता भट्टराईलाई शंकाको नजरले हेरिरहेका बेला पहाडी मन्त्री बन्नुलाई अर्थपूर्ण मानिएको छ । त्यतिमात्र होइन पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने एक सांसद हुन् । उनी सिन्धुलीबाट दुईपटक निर्वाचित भएका सांसद हुन् ।
नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुलाई ओली समुहले मन्त्री बन्न गरेको आग्रह अस्विकार गरेपनि योगेश निकट पहाडीले शक्तिशाली मन्त्रालय सम्हाल्ने भएका छन् । स्रोतका अनुसार नेता भट्टराई र पहाडी कैयौँ पटक सँगै बालुवाटार निकट नेताहरूलाई भेटेका थिए ।
नेता पहाडीलाई प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्री बनाउने भएका छन् । एमालेका एक नेताका अनुसार योगेश भट्टराईकै कारण उनी मन्त्री बनेको बताएका छन् । उनका अनुसार पछिल्लो समय नेपाल समुहमा भन्दा ओली समुहमा भट्टराई रमाउन थालेका छन् ।
योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।