मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने: दीपक मनाङ्गेले साथ नदिने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने: दीपक मनाङ्गेले साथ नदिने



काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। तर, यसअघि साथ् दिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गेले साथ नदिने भएका छन्।

संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्। उनी २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद्मा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले उनलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। यसरी नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश सभामा विश्वासको मत नपाउने देखिएको छ। उनको मन्त्रिपरिषद्मा रहेका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङले साथ नदिने भएपछि उनले विश्वासको मत नपाउने देखिएको हो।

मन्त्री समेत रहेका मनाङ्गे बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छैनन्। मुख्यमन्त्री गुरुङले प्रदेश सभा भंग गरेर मध्यावधि चुनावमा जान खोजेकाले मन्त्रिपरिषद् बैठकमा सहभागी नभएको मन्त्री मनाङ्गेले बताएका छन्। उनी स्वतन्त्र सांसद हुन्।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। विश्वासको मतका लागि ३१ सांसद चाहिन्छन्। अहिले नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन्।

कांग्रेस, माओवादी, जनमोर्चा र जसपा विपक्षमा उभिने भएका छन्। तर, जनमोर्चाका सांसद कृष्ण थापा मुख्यमन्त्री गुरुङको पक्षमा देखिएका छन्। यसअघि साथ दिएका स्वतन्त्र सांसद दीपक मनाङ्गेले पनि विपक्षमा उभिने संकेत गरेका छन्। जसले गर्दा अहिलेसम्म मुख्यमन्त्री गुरुङको पक्षमा २८ सांसद मात्रै देखिएका छन्।

स्वत्रन्त्र सांसद मनाङ्गेले साथ दिएमा विपक्षी गठबन्धनको पनि बहुमत पुग्ने देखिएको छ। कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जनमोर्चाका दुई, जसपाका दुई र एक स्वतन्त्र गरी ३१ सांसद पुग्छन्। जुन सरकार बनाउनका लागि बहुमत हो।