संसद विघटन मुद्दामाका लागि १५ घण्टा समय तोकियो, ४ जना एमिकस क्युरी माग - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

संसद विघटन मुद्दामाका लागि १५ घण्टा समय तोकियो, ४ जना एमिकस क्युरी माग



काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा दायर रिटमा अब १५ घण्टामात्रै बहस गराउने भएको छ । संवैधानिक इजलासको बुधबारको सुनुवाइपछि जारी आदेशमा यस्तो उल्लेख छ ।

“इजलासमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लािग सुरु बहसका सन्दर्भमा बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कुल तीन घण्टा समय गरी १५ घण्टा बहसका लागि समय प्रदान गरिनेछ । सरकारी वकिलहरुसहित प्रत्यर्थीहरु तर्फका सबै कानुन व्यवसायीका लागि कुल १५ घण्टा मात्र कार्य समय (बहस समय) प्रदान गरिनेछ ,” आदेशमा भनिएको छ ।

इजलासले यो मुद्दामा ४ जना एमिकस क्युरी (अदालतको सहयोगी) पनि माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् ।

यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिएको छ ।

यसअघि गत पुसमा भएको संसद विघटनसम्बन्धी रिटमा पनि सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बार बाट क्रमश ३ र २ जना एमिकस क्युरी माग गरेको थियो ।