शंकर पोखरेल मुख्यमन्त्री हुन् कि न्यायाधीश ? - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

शंकर पोखरेल मुख्यमन्त्री हुन् कि न्यायाधीश ?



काठमाडौं- एमाले केपी शर्मा ओली समुहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतमा बहस भैरहेका बेला प्रधानन्यायाधीश, न्यायाधिश तथा बहस गरिरहेका वरिष्ठ अधिवक्ताहरूलाई कानुन सिकाएका छन् । उनले कानूनका विद्यार्थीलाई त थाहा हुनु नै पर्ने भन्दै कानुनी प्रक्रिया सिकाएका छन् ।

उनले शेरबहादुर देउवाले जुटाएको बहुमत अवैध भएको बताएका छन् । सर्वोच्च अदालतमा अधिवक्ताहरूले देउवाको पक्षमा बहुमत रहेकाले अन्तरिम आदेश दिनुप्परने माग गरेकै बेला उनले असंसदीय तरिकाले जुटाइएको बहुमत बदरभागी हुने बताए ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले देउवाको पक्षमा बहुमत सांसदहरूले हस्ताक्षर गरेकोले तत्काल अन्तरिम आदेश माग गरेका थिए । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस जारी भएकै बेला ओलीका प्रियपात्र मानिएका पोखरेलले कानूनका विद्यार्थीलाई सिकाएका छन् ।

पोखरेलले एमाले सांसदहरूको समेत हस्ताक्षरमा कांग्रेस सभापति शेरबहादुर देउवाले जुटाएको बहुमतको अर्थ नरहेको जिकिर गरेका हुन् । सर्वोच्चमा जारी बहसतर्फ इंगित गर्दै पोखरेलले लेखेका छन्- ‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई त थाहा हुनु नै पर्ने हो ।’

सर्वोच्चमा बहसका क्रममा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले देउवाले बहुमत हस्ताक्षरसहित दाबी पेश गरेकाले उनलाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका थिए ।