चकनाचुर भयो विश्वकप खेल्ने नेपालको सपना - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चकनाचुर भयो विश्वकप खेल्ने नेपालको सपना



काठमाडौं – जोर्डनसंग हार्दा विश्वकप खेल्ने नेपानी फुटबल टिमको सपना समाप्त भएको छ । फिफा विश्वकप र एसियन कपको छनोट खेलको दोस्रो चरणको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। सोमबार राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खाएको थियो। २३ औं मिनेटमा रोहितले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। उक्त अवसरलाई बाहा फैजल सेइफले गोलमा परिणत गरे। त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन।

दोस्रो हाफको ४८ औं मिनेटमा बाहाले फ्रि किकमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। ६७ औं मिनेटमा अल अरबीले जोर्डनका लागि तेस्रो गोल थप्दै जित सुनिश्चित गरे।

हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ। एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै छ।

जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। उसको १३ अंक रहेको छ। तेस्रो स्थानमा रहेको कुवेतको १० अंक रहेको छ। शीर्षस्थानमा अष्ट्रेलिया रहेको छ।

नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ।