बुढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा बिहान पुगेर फर्केका प्रचण्ड फेरी पुगेका हुन्।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै विद्रोही समूह माधव नेपाल समुहलाई एकतामा आउन ६ बुँदे आह्वान गरेपछि राजनीतिक माहोल फेरी तातेको छ । बिहानै देखि देउवा निवासमा नेताहरूको आवत जावत बढेको छ ।
दिउसो प्रचण्ड देउवा निवास पुगेसँगै एमालेका नेता माधव नेपाल पनि पुगेका छन् ।नेता नेपाल पार्टीको बैठक सकेर त्यहाँ पुगेको बताइएको छ । नेपाल समुहले पनि देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा पेश गरेको रिटमा हस्ताक्षर गरेको छ ।
प्रचण्ड बिहान नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरी देउवाको निवास पुगेका थिए । देउवासँग झण्डै एक घण्टा छलफल गरेर बाहिरिएका प्रचण्ड त्यसपछि पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडा पुगेका थिए । अहिले देउवा निवासमा देउवा, प्रचण्ड र नेपाललगायतका नेताहरूका बीचमा छलफल भैरहेको बताइएको छ ।