नेपाल समूहद्वारा अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार: यस्तो छ बैठकको निष्कर्ष - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

नेपाल समूहद्वारा अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार: यस्तो छ बैठकको निष्कर्ष



काठमाडौँ- नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ। ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय यो पक्षको सोमबारको स्थायी कमिटी बैठकले गरेको हो।

बैठकले यसअघि नै प्रस्तुत गरेका ६ बुँदे प्रस्ताव स्वीकार गरे मात्रै पार्टी एकताको वातावरण बन्ने निष्कर्ष निकालिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

“अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे (आइतबार साँझ प्रस्ताव गरिएको) प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ । शर्त मानेर एकता सम्भव छैन,” भुसालले बाह्रखरीसँग भने, “लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।”

उनले पुरानो कारबाही फिर्ता नलिने र नयाँ कारबाही गर्दिन भन्नुको कुनै तुक नरहेको बताए । त्यस्तै पुरानै जनसंघटन क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको बताए । “मूलभूतरूपमा पुरानै कमिटी ब्युँताउने भनेको आफूलाई मन परेका मानिस मात्रै राख्ने भन्ने हो यो कुरा स्वीकार्न सकिँदैन ।”

एक दिनको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावले परिणाम नदिने स्थायी कमिटी सदस्य युवराज ज्ञवाली बताउँछन् । “प्रधानमन्त्री ओलीले नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताउनुभएको छ । त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने शर्त राख्नुभएको छ यो भनेको जेठ ३ मा फर्कने कुरा हो । नेकपामा फर्कने कुरा हो । एमालेमा फर्कने कुरा होइन,” ज्ञवाली बैठकको निचोड सुनाउँदै भन्छन्, “जेठ २ मा फर्कन ६ बुँदा मान्न तयार हुनुपर्छ ।”

उनले जेठ ३ मा फर्कने भनेको माओवादी केन्द्रबाट रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरी, दावा लामासहित २३ जना नेताहरू स्वीकार्नुपर्ने शर्त भएकाले यो पार्टी एकताको प्रस्ताव नभएको स्थायी कमिटीको निचोड रहेको उनको भनाइ थियो ।

ज्ञवालीले केही बेरमा वक्तव्य निकालेर सामूहिक धारणा सार्वजनिक गरिने पनि बताए ।