महन्थ ठाकुर पक्षका चार जना मन्त्री बर्खास्त
जनकपुर- प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार पूर्वराजपा पक्षका ४ जना मन्त्रीलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो । पदमुक्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।
अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओवादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।