वार्तामा अल्झिन छाडेर वैकल्पिक बाटो रोज्ने नेपाल समूहको निष्कर्ष - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

वार्तामा अल्झिन छाडेर वैकल्पिक बाटो रोज्ने नेपाल समूहको निष्कर्ष



काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संविधान, पार्टी विधान, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरेको छ।

आफूहरुको माग पूरा हुने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिन नहुने निष्कर्ष पनि सो समूहले निकालेको छ। सो समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकबाट पारित प्रस्तावमा यस्तो निष्कर्ष निकालिएको हो।

आफ्नो समूहको संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि सो समूहले गरेको छ। आफूहरुले अघि सारेका माग निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी ओली एकताको पक्षमा रहेको ठहरिने भनाइ सो समूहको छ।

अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यविरुद्ध प्रमुख राजनीतिक दलहरू कानुनी र राजनीतिक रूपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिन नहुने धारणा पारित प्रस्तावमा उल्लेख छ।

पारित प्रस्तावमा भनिएको छ, ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ-आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं ।’