मन्त्री बनेलगत्तै विवादमा तानिए राजेन्द्र महतो: राष्ट्रियतामाथि उठाए गम्भीर प्रश्न
काठमाडौं- जसपा नेता राजेन्द्र महतो मन्त्री बनेलगत्तै विवादमा तानिएका छन् । उनले आफू नियुक्ति भएकै दिन राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएका छन् । यसअघि पनि पटक पटक विवादित बनेका महतोले मन्त्री बनेलगत्तै दिएको अभिव्यक्तिले शंका उत्पन्न गराएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवंम शहरी विकासमन्त्रीमा नियुक्त भएका महतोले विवादित अभिव्यक्ति दिएका छन् । मन्त्रीको रुपमा सपथ खाएलगत्तै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानको लागी राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् ।
उनले भनेका छन् ‘हाम्रासामु दुईवटा कार्यभार छन् । मधेषका एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’
उनले देश सम्पूर्ण नेपालीको बन्नुपर्ने बताएका छन् । उपप्रधानमन्त्री महतोले सबै नेपालीको पहिचान,अधिकार,सम्मान र शासनमा प्रतिनिधित्व हुुनुपर्ने र त्यहीअनुसार संविधान बन्नुपर्ने अभिव्यक्ति दिएका छन् । संविधान जारी भएपछि असन्तुष्ट रहेको राजपाको महन्थ ठाकुर पक्ष शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको चर्को आलोचना सुरु भएको छ । उनले बहुल राष्ट्रिय राज्यको अभिव्यक्ति दिएलगत्तै यसमा सचेत बन्नुपर्ने आवाज उठेको छ । एमाले नेता योगेश भट्टराईले यसको विरोध गर्दै लेखेका छन ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहुराष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु । ’
उनले अगाडी लेखेका छन् ‘संबिधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो । ’