पार्टी एकताकै पक्षमा माधव नेपाल - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

पार्टी एकताकै पक्षमा माधव नेपाल



काठमाडौं- नेकपा (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। 

आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको दुई दिन चलेको भर्चुअल बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले एकताकै पक्षमा रहेको धारणा राखेका हुन। “एकता नभएको ओलीजीको कारणले हो, म पार्टी एकताकै पक्षमा छु,” पूर्वमहासचिव नेपालको भनाई उदृध गर्दै बैठकमा सहभागी एक नेताले भने। 

ती नेताका अनुसार नेपालले ओली पक्षसँग औपचारिक र अनौपचारिक संवाद जारी राख्नुपर्नेमा जोड दिएका छन्। 

एमाले केन्द्रीय सदस्य रचना खड्का सकेसम्म पार्टीलाई एकता जोगाउनु पर्ने बैठकको निश्कर्ष रहेको बताउँछिन्। पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पु-याउनु पर्ने, ओली पक्षले २८ फागुनमा गरेको निर्णय सच्याउनु पर्ने आफूहरूको माग कायम रहेको खड्काको भनाइ छ। 

बिहीबारदेखि शुरु भएको बैठकमा सबै नेताहरूले बोलीसकेपछि नेपालले अन्तिममा निश्कर्ष सहितको धारणा राखेका हुन।

बिहीबार भर्चुअल बैठकमा बोल्दै एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले अब नयाँ पार्टी खोल्न ढिलाइ गर्न नहुने बताएका थिए। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिने उनको भनाइ थियो। 

त्यस्तै, एमालेका चार जना नेताले नयाँ पार्टी खोल्नुपर्ने भन्दै नेपाल र खनाललाई पत्र पठाएका थिए। उनीहरूले वार्तामा अल्झिनु नहुनेमा जोड दिएका थिए।