संवैधानिक इजलास गठन: नागरिकता अध्यादेशको सुनुवाइ हुँदै - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

संवैधानिक इजलास गठन: नागरिकता अध्यादेशको सुनुवाइ हुँदै



काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । शुक्रबार जबराले इजलास गठन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइका लागि वरिष्ठ न्यायाधीश सहभागी संवैधानिक इजलास गठन गरिएको हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका विषयमा विवाद भएको थियो । जेठ १८ गते प्रधानन्यायाधीश जबराले आगामी दिनमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवालगायत १ सय ४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि आइतबारबाट सुनुवाइ हुनेछ । त्यसका लागि पनि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश राखेर विवाद निरुपण गर्ने बताएका थिए ।