कामचलाउ सरकारमा जान मरिहत्ते: मध्यरातसम्म बालुवाटारमा के गर्छन् महन्थ ठाकुर ?
काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आजकल मध्यरातसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भेटिन थालेका छन् । उनले पार्टीका विवाद, पार्टीका काम र पार्टीका बैठक छाडेर उनी बालुवाटारमा ब्यापक समय बिताउन थालेका छन् ।
सत्तामा जानको लागि जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो लगातार प्रधानमन्त्री ओलीसंग छलफल र वार्तामा छन् । पार्टी फुताएरै भएपनि ओली सरकारमा जान उनीहरूले अथक प्रयास गरिरहेका छन् । त्यो पनि संसद विघटन गरेर कामचलाउ भैसकेको सरकारमा ।
लगातार बालुवाटार र भारतीय दुतावास धाउने गरेका ठाकुर र महतो अहिले घरमा भन्दा बढी बालुवाटारमा भेटिन थालेको जसपाकै एक नेता बताउँछन् ।
पार्टीमा एक पक्षले अर्को पक्षलाई कारबाही गरेर बिभाजन नजिकै पुगेको जसपाका ठाकुर र महतोले नयन पार्टी गठन गर्नेबारेको छलफल पनि बालुवाटारमै गर्ने गरेको जसपाका अर्को पक्षका नेताहरूको आरोप छ । ठाकुर र महतोले कहिलेकाहिँ नेताहरूको झुण्ड नै बोकेर बालुवाटार जानेगरेको एमालेकै नेताहरूले बताउने गरेका छन् ।
यस्तै महतो समूह सरकारमा सहभागी गराउने तयारी भएको छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने भएका छन् । बालुवाटारमा अहिले छलफल चलिरहेको बताइएको छ ।
जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ । संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।