झलनाथ खनालले ल्याए पार्टी नेतृत्वको नयाँ प्रस्ताव
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा नयाँ प्रस्ताव ल्याएका छन् । उनले आफूहरूको उमेर घर्किसकेकाले अब नयाँ पुस्ताले पार्टी चलाउनुपर्ने प्रस्ताव ल्याएका छन् ।
उनले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्तालाई पार्टी सुम्पिनुपर्ने बताउँदै आफ्नो पुस्तालाई बिदा गर्नुपर्ने बताए । ‘समय सापेक्ष पार्टी चलाउन युवाले नेतृत्व गर्नुपर्छ, मेरो पुस्ताका हामीहरू ७० वर्ष आसपास पुगेकाले पनि अब अवकाश लिनुपर्ने हुन्छ ।’ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा सहभागीहरूलाई सम्वोधन गर्दै उनले भने ।
नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न युवाहरूलाई आग्रह गरेका थिए । ‘केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ बैठकमा खनालले भने । अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गरेका छन् ।
उनले केपी ओलीबाट कम्युनिस्ट आन्दोलन सखाप हुने समेत बताए । लामो समयको संघर्षले निर्माण गरेको कम्युनिस्ट आन्दोलन नै उनले सखाप पार्न लागिपरेको उनको आरोप थियो ।