मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत लज्जाको विषय: प्रचण्ड - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत लज्जाको विषय: प्रचण्ड



काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता रहेको बताएका छन्।

सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने प्रचण्डकाे भनाइ छ।

उनले जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताएका छन्।

स्थानीय तहसम्म निगरानी संयन्त्र बनाई जातीय भेदभाव तथा छुवाछुतको अन्त्य गर्ने कार्यमा जुट्न उनले अपील गरेका छन्।

मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय रहेकाे बताउँदै प्रचण्डले आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेकाे बताएका छन्।

संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने प्रचण्डले बताएका छन्।