निर्वाचन आयोगले पठायो उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

निर्वाचन आयोगले पठायो उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र



काठमाडौं- निर्वाचन आयोगले जसापका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ। मंगलबार दुवै अध्यक्षले एक अर्कलाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए।

उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसबारे मंगलबार आयोगलाई जानकारी गराएको थियो।

ठाकुरले भने यादव पक्षको निर्णय सार्वजनिक भएपछि बुधबार यादवलाई निष्कासन गर्ने निर्णय गरेका थिए। ठाकुर पक्षले पनि बुधबारै आयोगलाई पत्र पठाएका थिए।

आयोगले दुवै पक्षले पठाएको पत्र नियमावलीको अनुसूचीको ढाँचामा नभएकाले पुनः पत्र लेख्न भनेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

‘अहिले दुवै पक्षलाई अनुसूचीको ढाँचामा विवरण पेश गर्न लेखेर पठाएका छौँ’, उनले भने, ‘ठाकुरलाई भने केन्द्रीय समितिको सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपी पनि पठाउनु भनिएको छ।’

यादवले पठाएको पत्रमा केन्द्रीय समितिको सदस्यको हस्ताक्षर पनि समावेश गरिएको श्रेष्ठले बताए। दुवै पक्षलाई बुधबारै पत्र पठाइएको हो।