सरकारमाथि घेराबन्दी भएको भन्दै ओलीले दिए युवा संघलाई जिम्मा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

सरकारमाथि घेराबन्दी भएको भन्दै ओलीले दिए युवा संघलाई जिम्मा



काठमाडौँ- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् ।सोमबार युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने बताएका हुन् ।

पार्टी वा व्यक्तिले चुनाव हार्ने नहार्ने भन्दा पनि लोकतन्त्रलाई जिताउने कर्तव्य सरकारको रहेको ओलीले बताए । ‘चुनावका लागि भनेर पपुलिस्ट काम, जनताको सेवा हैन भोट आकर्षित गर्ने काम, देशको विकास हैन भोट आकर्षित गर्ने घटिया काम सरकार गर्दैन,’ ओलीले भने, ‘यो सरकार एउटा चुनाव जितिन्छ कि हारिन्छ भन्ने हैन, एउटा व्यक्ति, एउटा उमेद्वार जित्छ कि हार्छ भन्ने हैन । लोकतन्त्र हार्छ कि जित्छ भनेर हेर्छ । लोकतन्त्रलाई जिताउने यसको कर्तव्य हो । जनतालाई जिताउनु पर्छ । यो मान्यताबाट सरकार दायाँबायाँ हुँदैन ।’

यो सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिए । ‘हामीमाथि चारैतिरबाट घेरिएको छ । मिडिया हाउस हामीले स्थापना गरेका छैनौं, मिसन पत्रकारिता भनेको घातक पत्रकारिता हो । हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौं,’ ओलीले भने, ‘स्वतन्त्र, निष्पक्ष, स्वच्छ, मर्यादित, देश र जनताप्रति उत्तरदायी पत्रकारितामा विश्वास गर्छौं । त्यसलाई बढावा दिन्छौं । यस्ता कमिहरु हाम्रो व्यक्तिगत सम्बन्ध, सञ्चार, एसएमएस, टेलिफोन, स्टाटस इत्यादिबाट कुराहरुबाट पूरा गर्न सक्छौं । त्यो काम गर्नुपर्छ ।’

एमाले नेता माधवकुमार नेपाल–झलनाथ खनाल लगायतका केही नेता आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न निर्लज्ज तरिकाले लागेको बताए । विधि, पद्धति, प्रक्रिया भनेर खनाल–नेपालपक्ष आत्मघाती तरिकाले प्रस्तुत भएको ओलीको टिप्प्णी छ ।