एमाले विवाद: याक एण्ड यतीमा सहमति, फोन गर्छु भनेका विष्णु पौडेल नै गायव - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

एमाले विवाद: याक एण्ड यतीमा सहमति, फोन गर्छु भनेका विष्णु पौडेल नै गायव



काठमाडौं- एमालेको विवाद समाधान गर्न गठित कार्यदल अहिले निस्क्रिय छ । सहमतिको नाममा एक पक्षले जालझेल मात्रै गर्ने र एकोहोरो पेल्ने गरिएकोले औपचारिक रूपमा भएका कार्यदलका दुई बैठक पनि सौहार्द हुन सकेनन् ।

माधव नेपाल पक्षको मत पाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मकाण्डको लागि कार्यदल बनाउन सहमत भएको आरोप समेत अहिले लाग्ने गरेको छ । पहिलो बैठकपछि बसेर सामान्य छलफल गरेको कार्यदलको दोस्रो बैठक बस्न नभ्याउँदै राष्ट्रिय राजनीतिमा आएको परिवर्तनले कार्यदल निस्क्रिय बन्यो । त्यसलगत्तै माधव नेपाल समूहका ११ जना नेतामाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओली पक्षले गरेको कारवाहीले कार्यदल भङ्ग नै भयो ।

यो कारबाहीले एमाले औपचारिक विभाजन हुने पक्का भएको छ। अहिले ओली समुहकै कार्यदलका सदस्यहरूले यस्तो बताउँ थालेका छन् । सुवास नेम्वाङले त सार्वजनिक रूपमै कार्यदलको औचित्य सकिएको बताएका छन् ।

एकातिर नयाँ सरकार गठनको प्रक्रियामा माधव नेपाल पक्षका सांसदहरुले विपक्षी गठवन्धनको पक्षमा हस्ताक्षर बुझाएपछि एकता भाँडिएको ओली पक्षले आरोप लगाएको छ भने नेपाल पक्षले भने एकताका नाममा आफूहरुलाई अल्मल्याउने र जसरी पनि संसद विघटन गर्ने प्रधानमन्त्री तथा अध्यक्ष ओलीको चालबाजीका कारण विश्वासको वातावरण बिग्रिएको आरोप लगाएको छ ।

पार्टी विभाजन हुन्सै लागेको बताइएपनि दुवै तर्फका दोस्रो तहका नेताहरु भने अझै पनि पार्टी एकता जोगाउन लागिपरेका छन् । पार्टीको एकता बचाउन ओली पक्षले भन्दा बढी नेपाल पक्षका नेताहरूले जोड गरिरहेको बताइएको छ । जेठ ८ गते दिउँसो विपक्षी गठवन्धनका तर्फबाट सरकारमा दाबी पेश गर्न काँग्रेस, माओवादी केन्द्र, जसपालगायत दलका नेताहरु सँगै बरिष्ठ नेता नेपाल शीतलनिवास पुग्दा कार्यदलका केहि सदस्यहरुले भने अनौपचारिक छलफल गरिरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले मध्यरात भएको प्रतिनिधिसभा विघटनय सिफारिस गरेर राष्ट्रपतिले सदर गरेपछि पनि दुई पक्षका नेताहरुबीच लगातार छलफल चलिरहेको स्रोत बताउँछ । दुवै तर्फका नेताहरू निष्कर्ष नजिक धेरैपटक पुगेको तर बालुवाटार पुगेर ब्रिफिङ गर्दा कुरा बिग्रिने गरेको बताइएको छ ।

स्रोतका अनुसार माधव नेपालका सांसदहरूले हस्ताक्षर गर्दा देउवाको बहुमत पुग्ने देखेपछि ओलीपक्षले निर्णायक वार्ताका लागि नेपाल समुहलाई बोलाएका थिए । काठमाडौँको याक एण्ड यति होटलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली छलफलमा थिए भने नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पार्टी एकता जोगाउने अन्तिम कसरतमा जुटेका थिए ।
मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठवन्धनसँगै नेपाल पक्ष पनि कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने भएपछि याक एण्ड यति होटलमा बसेको वार्ताले जेठ २ गते कै अवस्थामा पार्टीलाई पुराउने सहमति भएको स्रोतको दाबी छ।

स्थानीय कमिटीहरुलाई जेठ २ कै अवस्थामा लैजाने र नेकपाको केन्द्रीय कमिटीमा रहेर एमालेमा फर्किएकालाई मान्यता दिने कुरामा ओलीसमेत सहमत भएको भण्डार विष्णु पौडेलले प्रस्ताव ल्याएपछि यसमा मोटामोटी सहमति बनेको थियो ।

कसरी भाँडियो याक एण्ड यतिको सहमति ?

माधव नेपाल निकट एक नेताका अनुसार त्यो सहमति एकैदिनमा नौटंकीमा परिणत भयो । अघिल्लो दिनको अनौपचारिक सहमतिलाई अर्को दिन बिहान दुवै पक्षको संयुक्त बैठक बसेर घोषणा गर्नेगरी नेताहरू छुटेका थिए ।

बैठकमा सहभागी नेपाल समुहका नेताहरुले तत्काल संयुक्त विज्ञप्ति जारी गर्न माग गरेका थिए तर ओली पक्षका नेताहरूले भने अर्कोदिन बिहानै दुवै पक्षको संयुक्त बैठक बसेर सहमति घोषणा गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा नेपाल पक्षका सांसदहरुले हस्ताक्षर नगर्ने आग्रह गरे।

त्यो दिन राति भैसकेकाले त्यसको अर्कोदिन बिहानै एउटा टोली बालुवाटारमा ब्रिफिङका लागि पुग्यो । अर्को टोली भने नेपाल निवास कोटेश्वरमा ब्रिफिङका लागि पुग्यो।

कोटेश्वरमा याक एण्ड यतिमा भएको छलफल सुनाउदै बिहानै भुसाल र पाण्डेले गुड न्युज सरप्राइज दिए । पार्टी एकताको सम्भावना बढेको कुरा सुनेपछि नेपाल पनि उत्साहित भए । त्यसपछि उनले यसका लागि ढिला गर्न नहुने भन्दै तत्काल घोषणा गर्न भन्दै नेताहरूलाई फोन गरे ।

नेपालले उधारो कुरा गरेर हुँदैन, गर्ने भए अहिले नै घोषणा गर्नुपर्ने भन्दै नेताहरूलाई बालुवाटारसँग कुरा गर्न लगाए । उनले भनेका थिए ‘ओली चतुर छन् हामीलाई टालटुल पार्न खिजेको पनि हुनसक्छ यदि उनीहरूले साँच्चै चाहेको हो भने तत्काल घोषणा गर्ने वातावरण मिलाउन भन्नुहोस ।’ नेता नेपालले विष्णु पौडेलजीलाई फोन गरेर तत्काल संयुक्त वक्तव्य निकाल्ने प्रस्ताव ओलीसमक्ष पुर्याउन भन्नुहोस भन्दै पाण्डेलाई अह्राए ।

कार्यदलका संयोजक भीम रावलले विष्णु पौडेललाई फोन गरेर यो सबै सहमति हुनेहो भने विघटनको समर्थन नगर्ने र आफूहरु रिटमा हस्ताक्षर गर्न नजाने कुरा सुनाउँदै संयुक्त वक्तव्य तत्काल निकाल्नुपर्ने बताए ।

रावलको कुरा सुनेपछि पौडेलले प्रधानमन्त्रीसँग सल्लाह गरेर फोन गर्छु है भन्दै फोन काटेको स्रोत बताउँछ । त्यसपछि सल्लाह गरेर फोन गर्छु है भनेका पौडेलले न फोन गरे न गरेको फोन उठाए ।

अवेरसम्म नेता नेपाल समूह पौडेलको फोन कुरेर बसेको र हस्ताक्षर गर्न ढिला भएको बताइएको छ ।