चिनियाँ राष्ट्रपतिले भने: नेपालको समस्यामा हामी सधै साथमा छौँ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

चिनियाँ राष्ट्रपतिले भने: नेपालको समस्यामा हामी सधै साथमा छौँ



काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस महामारीसँग जुध्न नेपाललाई सबै प्रकारको सहयोग गर्न चीन सरकार तयार हरेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग जारी राख्ने बताउंदै नेपालका लागि सधै आफूहरू साथमा रहेको बताएका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले अप्ठ्यारो परिस्थितिमा असल छिमेकीले एक अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै नेपालले महामारी विरुद्धको लडाइँमा सफलता पाउने विश्वास व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति सीले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गतको हिमालयन पार त्रि–आयामिक अन्तरआबद्धता नेटवर्कको कार्यान्वयनमा जोड दिँदै दुई देशले विकास र समृद्धिको यात्रामा साझेदारीको आवश्यकतामा जोड दिएका थिए ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका दौरानमा रेल, सडक, विद्युतसहितका क्षेत्रमा हिमालय सीमापार अन्तरआबद्धता गर्ने विषयमा द्धिपक्षीय समझदारी भएको थियो ।

चिनियाँ राष्ट्रपतिले संवादका क्रममा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको संरक्षण तथा विकासको यात्रामा निरन्तर सहयोग जारी राख्ने पनि बताएको विज्ञप्तिमा उल्लेख छ ।

दुई देशका राष्ट्रपतिबीचको संवादका दौरानमा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको जनाउँदै नेपालको भूभागमा चीन विरोधी गतिविधि हुन नदिने समेत प्रतिबद्धता जनाएकी थिइन् ।

चीनले बुधबार नै नेपाललाई १० लाख खोप अनुदानमा दिने घोषणा पनि गरेको छ ।