महामारीको पूर्व तयारी हुँदैन: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ८ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 20 2026
Logo

महामारीको पूर्व तयारी हुँदैन: प्रधानमन्त्री ओली



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको पूर्व तयारी नहुने बताएका छन् । उनले नेपालमा कोरोना महामारीविरुद्धको सरकारी प्रयास अपर्याप्त हुनुलाई स्वभाविक भएको बताएका छन् ।

विकसित मुलुकमा पनि कोरोना महामारीका बेला पूर्व तयारी नभएका कारण समस्या उत्पन्न भएको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले रोकथामका लागि नेपालमा भएको प्रयास अपर्याप्त हुनु स्वभाविक रहेको बताए।

‘महामारी के हो भनेर हामीले बुझेको छौँ । अचानक आइ लाग्ने महामारीको पूर्व तयारी हुँदैन’, प्रधानमन्त्रीले भने।

‘कोरोना महामारीविरुद्ध नेपालमा रहेका स्वास्थ्य सामग्री र सरकारी सामर्थ्य अपर्याप्त हुनु स्वभाविक हाे। पूर्व तयारी नहुने गरेकै कारण यो महामारी हो’, उनले अगाडि भने।

ओलीले महामारीका बेला नेपालमा मात्रै नभई विकसित देशकाे प्रयास पनि अपर्याप्तत भएको बताए।

‘विकसित देशमा पनि अपर्याप्तता भयो। अस्पताल बाहिर पाल टाँगेको हामीले देख्यौँ। घरमै तातोपानी खाएर बस भनेर विकसित देशले भन्नुपर्‍याे’, ओलीले भने।

उनले शव व्यवस्थापनको विषय विकसित देशहरुमा पनि ठूलो समस्याका रुपमा खडा भएको बताए।

‘मानिसहरुको निधन हुनुभन्दा पहिले खाल्डा खानेर ठिक पारिदिनुपर्ने अवस्थामा विश्व गयो। यस्तो अवस्थाको असर हाम्रो जस्तो स्वास्थ्य सामर्थ्य कम रहेको देशमा हुन्छ’, ओलीले भने, ‘ नेपालमा नकारात्मक असर पर्नु र मौजुदा सामर्थ्य भन्दा बाहिर रहनु अस्वभाविक होइन।’

उनले कोरोना संक्रमण नियन्त्रणका लागि समयमै लकडाउनको विधि अपनाएका कारण क्षति कम भएको दाबी गरे।

‘हामीले समयमै लकडाउनको विधि अपनायौँ। मास्क लगाउन र हात धुन सिकायौँ यसै कारण धेरै विकराल ढंगले फैलिन पाएन’, ओलीले भने।